arrow

नेपालमा कोभिड-१९ निको हुने दर बढ्दो

logo
प्रकाशित २०७७ मंसिर २६ शुक्रबार
covid-test-positive-corona.jpg

काठमाडौँ । नेपालमा कोभिड–१९ निको दर बढेको पाइएको छ । विश्वका तुलनामा नेपालमा निको हुने दर बढेको हो । बिहीबारको तथ्याङ्कानुसार विश्वमा निको हुने दर ६९.३ प्रतिशत पुग्दा नेपालमा त्यसभन्दा बढी ९४.२ प्रतिशत पुगेको छ ।  विश्वमा ६ करोड ९२ लाख ५४ हजार ३०० संक्रमित भएका अवस्थामा चार करोड ८० लाख नौ हजार ४३७ जना निको भएका छन् । बिहीबारसम्मको तथ्याङ्कानुसार नेपालमा दुई  लाख ४५ हजार ६५० संक्रमितमध्ये दुई लाख ३१ हजार ६०१ जना निको भई घर फर्किसकेका छन् । 

नेपालमा कुनै समय ६०–६२ प्रतिशत मात्र कोभिड–१९ का संक्रमित निको भएकामा अहिले  ९४  भन्दा बढी प्र्रतिशत पुगेको छ । विगत दुई महिनाको तथ्याङ्क हेर्दा निको हुने दर ६८ प्रतिशतबाट बढेको देखिन्छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा संक्रमितको उपचार सेवा राम्रो भएकाले निको दर बढेको बताए । “अहिले उपचार सेवा पनि राम्रो भएको छ”, उनले भने, “त्यसैले संक्रमितको निको हुने दर पनि बढेको हो ।”  गत असोज २८ गते ६८.८ प्रतिशत संक्रमित निको भएका छन् । यस्तै कात्तिक ९ गते ७०.६, कात्तिक १६ गते ७७.६ र कात्तिक २६ गते ८० प्रतिशत संक्रमित निको भई घर फर्केका थिए । 

यही मङ्सिर १९ गतेदेखिको तथ्याङ्क हेर्दा पनि संक्रमित दर बढेको पाइन्छ । मङ्सिर १९ गते ९२.९, २० गते ९३.४, २१ गते ९३.७, २२ गते ९४, २३ गते ९४.१ र  २४ गते ९४.३ प्रतिशत संक्रमित निको भएका छन् ।  बिहीबार मात्र मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार ९४.२ प्रतिशत संक्रमित निको भएका छन् । सो दिन एक हजार ६४ जना निको भई घर फर्किएका थिए । 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका  निर्देशक डा सागरराज भण्डारीले उपचार पद्धति अन्य मुलुकको जस्तो भए पनि अहिले लक्षण नभएका संक्रमित घरमै बसेर निको हुने गरेको बताए । उनले परीक्षण नै कम भएकाले संक्रमित पनि कम हुने भएकाले  निको हुने दर बढेको जिकिर गरे । 

सशस्त्र प्रहरी बल अस्पतालका डा प्रवीण नेपाल परीक्षण नै कम भएर संक्रमणको दर पनि कम देखिनाले निको हुनेको सङ्ख्या बढेको बताउछन् । “अहिले लक्षण नभएका संक्रमित घरमै बसेर आफैँ निको हुने गरेका छन्”, उनले भने, “अस्पताल आएर उपचार गराउनेको सङ्ख्या पनि कम हुँदै गएकाले निको दर बढेको हो ।”

मृत्युदर कम
यस्तै नेपालमा विश्वका तुलनामा मृत्युदर पनि कम छ । पछिल्लो तथ्याङ्कमा नेपालमा संक्रमितमध्ये ०.६७ प्रतिशत मात्र मृत्यु हुने गरेको पाइएको छ । प्रतिदश लाखमा ५६.५ जनाको मात्र मृत्यु हुने गरेको छ । नेपालमा अहिलेसम्म एक हजार ६६३ जनाको संक्रमणका कारणले निधन भइसकेको छ । 

विश्वमा २.३ प्रतिशत संक्रमितको कोभिड–१९ का कारणले मृत्यु हुने गरेको पाइएको छ । विश्वमा १५ लाख ७६ हजार ८५ जनाको संक्रमणको कारणले निधन भएको छ । रासस



लोकप्रिय समाचार
नयाँ