काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ । आफू कोरोनाबाट संक्रमित भएको उनले शुक्रबार साँझ सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् ।
पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराएका हुन्। आजै उनमा कोरोना संक्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहेका थिए ।
कोरोना पुष्टि भएपछि उनले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उनी चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बसेका छन् । उनले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराएका छन् ।
यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट संक्रमित भइसकेका छन् । उनीहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा संक्रमित भएका थिए ।