arrow

देशव्यापी विरोध प्रदर्शनका लागि नेविसंघका को कहाँ खटिने ? यस्ता छन् कार्यक्रम 

logo
प्रकाशित २०७७ मंसिर २७ शनिबार
nebisangh-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले मंसिर २९ गतेको सरकारविरुद्धको देशव्यापी विरोध प्रदर्शनका लागि आफ्ना केन्द्रीय पदाधिकारीहरुलाई सातै प्रदेशमा खटाएको छ । 

‘ओली नेतृत्वको सरकारले देखाएको अकर्मण्यता, कोरोना संक्रमित जनताको जीवनरक्षामा देखाएको उदासिनता, कोरोनाको नाममा भएको भ्रष्टाचार र कमिशनखोरी, सरकारी दमन, वरिष्ठ नेता आदरणीय रामचन्द्र लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाथि भएको सरकारको गुण्डागर्दी तथा सरकारको सर्वसत्तावाद उन्मुख गतिविधि विरुद्ध नेपाली कांग्रेसद्धारा यही मंसिर २९ गते आयोजित देशव्यापी विरोध प्रदर्शनलाई व्यापक जनसहभागीताका साथ सफल पार्न’ भनी देशभर नेताहरु खटाएको नेविसंघका अध्यक्ष राजिव ढुङ्गानाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

प्रदेश १ मा उपाध्यक्ष तुलसा पन्त, प्रदेश २ मा महामन्त्री बलदेव तिमल्सिना, बागमती प्रदेशमा महामन्त्री मनोज वैद्य, गण्डकी प्रदेशमा महामन्त्री दिपक भट्टराई, लुम्बिनी प्रदेशमा उपाध्यक्ष मुक्तिराज पौडेल, कर्णाली प्रदेशमा महामन्त्री उर्मिला थपलिया र सुदूरपश्चिम प्रदेशमा महामन्त्री महेश्वरी कुँवरलाई खटाइएको छ । 

मंसिर २९ को कार्यक्रमलाई सशक्त पार्नका लागि नेविसंघले मंसिर २७ गते शनिबार उपत्यकास्तरीय अगुवा भेला, मंसिर २८ गते आइतबार देशका सबै प्रमुख शहरहरुमा अपरान्ह ४ बजे प्रचारात्मक सिठ्ठी जुलुस र २९ गते पार्टीद्धारा आयोजित देशव्यापी प्रदर्शन गर्ने जनाएको छ । 
 



लोकप्रिय समाचार
नयाँ