काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा नेताहरुले समाधान भन्दा समस्याको बाटो निम्त्याएको पाइएको छ । एकता महाधिवेशनसम्म मिलेरै अगाडि बढ्ने सहमतिका साथ अगाडि बढेको एमाले र माओवादी केन्द्रबीचको एकतामा दरारमात्र पैदा भएको छैन एकले अर्काका नेतालाई आफ्नो पकडमा पार्ने रणनीति मौलाएको छ ।
दुवै अध्यक्षका प्रतिवदेनलाई अध्ययन गर्न भन्दै मंसिर २१ गते बसेको स्थायी कमिटी बैठकले एक साताका लागि स्थगित गरेका नेताहरु अहिले पार्टीभित्र आफ्नो बहुमत बलियो बनाउने दौडधुपमा गुटगत भेलामा तल्लीन भएपछि अब थामथुम भन्दा पनि वारपारको लडाइँमा लागेको प्रतीत हुन्छ ।
एक नेकपा स्थायी कमिटीका सदस्य (जो बीचको धारमा देखिएका छन्) ले भने, ‘अध्यक्ष कमरेडहरुले रोपेको विष निकाल्न खोज्दा सम्भव होला जस्तै छैन । हामी एकता टुट्नु हुन्न भनेर मध्यमार्ग अपनाउन खोज्ने उहाँहरु गुट चलाएर आफू शक्तिशाली भएको देखाउन खोज्ने भएको छ । प्रयास भने जारी छ ।’
उनका अनुसार अहिले दुई धार मौलाएको छ –प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको ‘दाहाल–नेपाल’ गुट ।
एक हप्ताको अवधिमा दुवै पक्ष तीव्र रुपले आफ्ना कुराहरु राख्ने र गुटलाई फराकिलो बनाउनेतर्फ लागेका छन् । ओली पक्षका नेताहरुले विभिन्न स्थानमा गुटगत भेला गर्दै पार्टीभित्र आफ्नो बहुमत रहेको दावी गरिरहेका छन् । दाहाल–नेपाल गुटले पनि सचिवालयदेखि तल्लो तहसम्म आफ्नो बहुमत भएको दाबी गरेको छ ।
ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा भेला गराइसकेका छन् । उनको पकड हालका दिनमा प्रदेश नम्बर १ र कर्णाली प्रदेश देखिएको छ । त्यहाँ भेलासमेत सकिएको छ भने दाहाल–नेपाल समूहले काठमाडौंबाटै आफ्नो योजना अगाडि सारेको छ । स्रोतका अनुसार दाहाल–नेपाल समूहले बिहीबार बागमती प्रदेशका जिल्ला पदाधिकारीको भेला गरेर अब थामथुम भन्दा पनि वारपारको लडाइँमा केन्द्रीत हुन नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ ।
ओलीले प्रधानमन्त्रीको सरकारी निवासलाई नै अखडा बनाएर राजनीति गरिरहेका छन् । उनले विभिन्न समूहलाई बोलाएर बालुवाटारमै प्रशिक्षण दिइरहेको बालुवाटार स्रोत बताउँछ । ओलीले आफूले पाँच वर्षसम्म सरकार नछाड्ने, प्रचण्ड र माधवकुमार नेपाललाई अगाडि बढ्नै नदिने जस्ता स्वार्थी योजना बनाएर नेता तथा कार्यकर्तालाई ‘लक्ड गेट’ ढोका नै बन्द गरिदिने नीति अबलम्बन गर्न निर्देशन दिएको बताइएको छ ।
कार्तिक २८ गते प्रचण्डले ओलीले अहिलेसम्म गरेका गलत प्रवृत्ति, भ्रष्टाचारमा संलग्नता, ढाकछोप, अन्यलाई प्रवेश निषेध, म नै सर्वेसर्वा लगायतका प्रवृत्तिलाई उजागर गर्दै सचिवालय बैठकमा पेश गरेपछि ओलीले पनि मंसिर १३ गते आरोपसहित अर्को प्रतिवेदन पेश गरे ।
यी दुई नेताहरुले आपसमा एक अर्कालाई हिलो छ्यापेपछि अब भने मिलन बिन्दू खोजेर थामथुम नीति लिनु भन्दा पनि वारपारको लडाइँ नै गर्ने मनस्थितिमा पुगेका छन् ।
ओलीले पार्टी अध्यक्ष भएदेखि नै माधव नेपाल समूहलाई पेलिरहेको, वरिष्ठ नेता झलनाथ खनाललाई पेलेको, उपाध्यक्ष बामदेव गौतमबाट अवसर मात्र लिएको तथा प्रचण्डलाई भर्याङ चढ्ने सिँढी बनाएपछि नेताहरु अब ओलीको जालोमा नपर्ने भन्दै एकजुट भएका हुन् ।
दाहाल–नेपाल समूहले नेताहरुमात्र हैन विभिन्न संगठनलाई सशक्त परिचालन गरेका छन् । उनीहरुले विद्यार्थीलाई पनि दीक्षित गरेका छन् । उनीहरुले सबै तहमा आफ्नो सर्कुलर जारी गरेका छन् ।
उनीहरुको निष्कर्ष छ, ‘ओली समूहमा अब भ्रष्टाचारमा संलग्न मात्र हुनेछन् ।’
आइतबार एक हप्ता रोकिएको स्थायी कमिटी बैठक बस्ने भए पनि २१ गतेपछि ओली र दाहालबीच एकपटक मात्रै भेटघाट भएको छ । त्यो भेटमा ओलीले फेरि प्रचण्डलाई पेले । उनले आफूले भनेजस्तो ठाउँमा भनेकै मान्छेलाई नियुक्ति दिँदा पनि किन निहूँ खोजेको भनेर हप्काए । त्यसले फेरि एकपटक प्रचण्डलाई बिच्काएको छ ।
उनी बालुवाटारबाट फर्केपछि माधव नेपालसँग भेटेर अब कुनै पनि कुरामा सहमति नहुने भन्दै आफूहरुको रणनीति बलियो बनाउन लाग्नुपर्ने बताएका थिए ।
पहिले जस्तो यो ६ दिनको अवधिमा दोस्रो तहका नेताहरुबीच पनि विवाद मिलाउनेतर्फ खासै सक्रियता नदेखिएका कारण अब ओलीलाई यसपालि झुकाएरै छाड्नेमा प्रचण्ड–नेपाल पक्ष लागेको छ ।
ओली पक्षका नेताहरुले समेत पनि प्रचण्ड–नेपालसँग ओलीको योजना पुर्याउन सकेका छैनन् । ओली टसको मस नहुने र सहमतिमा पनि नचल्ने भएपछि अब पनि सहमति भनेर बसिरहनुको अर्थ नभएको नेताहरुले बताउन थालेका छन् ।
ओली सरकारले कोरोनाको महामारीमा समेत जनतालाई वास्ता नगरेपछि आलोचित हुँदै गएको छ । अब कुन मुख लिएर जनतासामु पुग्ने भन्दै इमानदार नेताहरुले नेतृत्वसँग भनिरहेका छन् ।
थामथुम भन्दा वारपारका लागि दाहाल–नेपाल पक्ष ओलीले कम्तीमा एक पद छाड्न तयार नभए केन्द्रीय कमिटीबाटै छिनोफानो गर्ने तयारी गरिरहेको स्रोत बताउँछ । स्थायी कमिटीले उपलब्ध गराएको समयमा अनौपचारिक छलफलबाट विवाद समाधान गर्नेभन्दा आफ्नो गुट बलियो रहेको प्रमाणित गर्ने रणनीतिमा जुट्दा नेताहरुबीच झनै तिक्तता बढाएको छ ।
पेल्न खोज्दा ओली नै बहुमतका आधारमा पेलिने निश्चित छ । दाहाल–नेपाल–खनाल–गौतम–रामबहादुर थापा ‘बादल’ गुट मिल्दा केपी शर्मा ओली गुटलाई हम्मेहम्मे पर्ने निश्चित छ । स्थायी कमिटी सकिएपछि पुस ५ देखि केन्द्रीय कमिटी बैठकसमेत डाकिएको छ ।