काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका चुनाव जितिन्छ कि भनी राखेका आशाका सबै प्रयास विफल भएका छन् । चुनाव हार्ने पक्का भएदेखि निरन्तर अदालतमा निवेदन हाल्दै जितका लागि भीख माग्दै आएका ट्रम्पको अन्तिम प्रयास पनि विफल भएको छ ।
ट्रम्पको समर्थनमा टेक्सास राज्यले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले खारेज गरिदिएको हो । टेक्सासका महान्यायाधिवक्ताले गत नोभेम्बर ३ को राष्ट्रपति चुनावमा जो बाइडेन विजयी चार ब्याटलग्राउण्ड राज्य जर्जिया, मिसिगन, पेन्सिलभेनिया र विसकन्सिनको नतिजा अवैध घोषणा गर्न माग गरी सर्वोच्च अदालतमा गत हप्ता हालेको मुद्दा खारेज गरिदिएको हो ।
उक्त मुद्दामा १८ राज्यका महान्यायाधिवक्ता र १०६ रिपब्लिकन सांसदले समर्थन गरेका थिए । तर सर्वोच्च अदालतले टेक्सास राज्यसँग यस्तो मुद्दा ल्याउने कानूनी अधिकार नरहेको भन्दै खारेज गरिदिएको हो । सर्वोच्च अदालतले अर्को वा अरु राज्यको चुनावका सम्बन्धमा मुद्दा ल्याउने कानुनी आधार नभएको जवाफ पनि दिएको छ ।
यसअघि गत मंगलबार पनि सर्वोच्चले ट्रम्पको चुनावी अभियान तथा रिपब्लिकनहरुले पेन्सिलभेनियामा बाइडेनको जितलाई आधिकारिकता प्रदान नगर्न माग गर्दै दायर गरेको मुद्दा खारेज गरेको थियो ।
जितका लागि चाहिने २७० इलेक्टोरल कलेज मतमा बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाउँदा ट्रम्पले २३२ मतमात्र पाए ।
बाइडनले देशभरबाट ट्रम्पले भन्दा ७० लाख बढी लोकप्रिय मत पाएका छन् । ब्यापारी ट्रम्पले अझै पनि आफ्नो बिजनेश चलिरहने दाबी गरिरहेका छन् ।
बाइडेनले आगामी जनवरी २० तारिखमा ४६ औं राष्ट्रपतिको सपथ लिएर ह्वाइटहाउस प्रवेश गर्दैछन् ।