arrow

जसपामा समायोजन भद्रगोल, आठ सय सदस्यीय केन्द्रीय समिति बनाउँदा पनि लफडा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २७ शनिबार
janata-samajwadi-party.jpg

काठमाडौं। तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीवीच एकीकरण भइ गठन भएको जनता समाजवादी पार्टीमा समायोजन भद्रगोल भएको छ। दुई पार्टीका नेताहरुले सहमतिमा तलदेखि प्रदेशसम्म समायोजन गर्ने निर्देशिका बनाएका छन् भने समायोजनको अन्तिम मिति मंसिर मसान्त तोकेका छन्।

तर अहिलेसम्म सहमतिमा समायोजन एउटा जिल्लाको मात्र भएको छ। त्यो पनि तत्कालिन दुई पार्टीको पकड नभएको पहाडी जिल्ला इलाममा मात्र। जसपाका नेताका अनुसार हालसम्म दुई जिल्ला इलाम र धनकुटामात्र समायोजन भएको छ। धनकुटामा पनि विवादको वीच समायोजन गरिएको छ। तत्कालिन राजपा र समाजवादीको पकड मानिएका प्रदेश २ का जिल्लामा समायोजनको टुंगो कहिलेसम्म लाग्ने हो, कुनै ठेगान छैन। समायोजनमा तत्कालिन दुई पार्टीका पकड नभएका पहाडी तथा हिमाली जिल्लामा समेत विवाद देखिएको छ।

तत्कालिन राजपाका प्रवक्ता तथा जसपाका नेता सन्तोष मेहताले हालसम्म इलाम र धनकुटामात्र समयोजन हुन सकेको बताए । तत्कालिन दुई पार्टीवीच सहमति हुन नसक्दा समायोजन ढिलो भएको उनको भनाइ छ । ‘कुनै कुनै जिल्लामा उहाँहरु (समाजवादीका नेताहरु)ले एकलौटी कमिटि गठन गर्नु भएको छ’मेहताले भने,‘यस्तो भए पछि कसरी समायोजन हुन्छ ?’ ताप्लेजुङमा तकालिन समाजवादी पार्टीका नेताहरुले एकलौटी कमिटि गठन गरेको पूर्व राजपाका नेताहरुको भनाइ छ।

प्रदेश समितिमा पनि समायोजन गर्न समस्या देखिएको छ। तत्कालिन समाजवादीका नेताहरुले तत्कालिन राजपाका प्रदेश कमिटी गठन नभएकाले तत्कालिन समाजवादीको प्रदेश समितिलाई नै जसपाको प्रदेश समिति बनाउन प्रस्ताव गरेका छन्। यस प्रस्तावालई तत्कालिन राजपाका नेताहरुले ठाडै इन्कार गरेका छन्। मंसिरभित्र समायोजन नटुंगिने निश्चित भएपछि पार्टीका नेताहरुले समायोजनको अर्को मिति तय गर्ने भएका छन् । गत वैशाख १० गते राती हतार हतारमा तत्कालिन राजपा र समाजवादीवीच एकीकरण भइ जनता समाजवादी पार्टी गठन गरिएको थियो । एकीकरण पछि जसपा संसद्मा प्रतिनिधित्व गर्ने तेश्रो दल बनेको छ।

तर तेश्रो दल गतिहिन बनेको छ । पार्टीले केन्द्रमा कुनै कार्यक्रम गर्न सकेको छैन । जिल्लामा पनि पार्टी प्रवेश कार्यक्रम बाहेक अरु कार्यक्रम हुन सकेका छैनन । पार्टी सुस्त हुनुमा पार्टीका नेताहरुले कोरोनाको कारण देखाउने गर्छन् ।

जसपाले ८ सदस्यीय केन्द्रीय समिति बनाएको छ । त्यसमध्ये तत्कालिन राजपा र समाजवादी पाटीले ४-४सय केन्द्रीय सदस्य सिफारिश गर्ने गरी भागबण्डा गरेका छन् । राजपाका भागमा आएको ४ सय सिट मध्ये ३ सय ७९ सिटमा जसपाले सिफारिश गरेको छ । बाँकि २१ सिटमा सिफारिश हुन सकेको छैन । तत्कालिन समाजवादीले सिफारिश गरेको ४ सय सिटमा त्यती विवाद देखिएको छैन । तर तत्कालिन राजपाले सिफारिश गरेको ३सय ७९ सिटमा भने विवाद देखिएको छ । केन्द्रीय समितिको नाम सिफारिश गर्दा तत्कालिन जसपाका अध्यक्षमण्डलका सदस्य महेन्द्र यादवको मानमर्दन गरिएको महेन्द्र निकट नेताहरु बताउछन्।

महेन्द्र निकट तथा तत्कालिन राजपाका वरिष्ठ उपाध्यक्ष सत्यनारायण मण्डलको नाम समेत केन्द्रीय सदस्यको सूचिबाट हटाइएको छ ।‘यो त ठूलो अन्याय भयो । अब म चुप लाग्दिन । अन्यायविरुद्ध लड्छु’सत्यनारायणले भने । यद्यपि जसपाका नेताहरुले मण्डलकी पत्नीलाई केन्द्रीय सदस्य बनाएकोले मण्डलको नाम केन्द्रीय सदस्यको सूचिबाट हटाइएको दावी गर्छन । यस आरोपलाई खण्डन गर्दे मण्डल भन्छन, ‘पार्टीका वरिष्ठ नेता भन्नेहरुले नै श्रीमतीलाई केन्द्रीय सदस्य बनाएका छन् । जसपामा पनि मेरो पत्नी केन्द्रीय सदस्य थिइन ।’ श्रीमान श्रीमतीको नाम राख्न नमिल्ने भए श्रीमतीको नाम हटाउनु पर्नेमा आफनो नाम हटाइएको जानकारी दिइएको बताउँदै मण्डलले भने, ‘यो भनेको म विरुद्धको षडयन्त्र हो । अब षडयन्त्रीकारीहरु को को हुन खोज्छु ।’   

तत्कालिन जसपाका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला अध्यक्ष सवर प्रजापतिले केन्द्रीय सदस्यको सूचि परिमार्जन नगरे जिल्ला जिल्लामा पार्टी समायोजन हुन नदिने ठोकुवा गरे । ‘पार्टीमा पुराना र त्याग गरेका कार्यकर्तालाई केन्द्रीय सदस्यको सूचिबाट हटाइएको छ । एक वर्ष अघि मात्र पार्टी प्रवेश गरेकाहरुलाई केन्द्रीय सदस्य बनाइएको छ’प्रजापतिले भने,‘त्यसैले केन्द्रीय सदस्यको सूचि परिमार्जन नगरे जिल्ला जिल्लामा समायोजन हुन दिन्नौ ।’ जसपा स्रोतका अनुसार तत्कालिन राजपाका नेताहरुले रिक्त २१ जना केन्द्रीय सदस्यको सूचि बनाएका छन् । तर पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले हस्ताक्षर गर्न बाँकि रहेकोले सूचि सार्वजनिक नगरिएको पार्टीका नेताहरुले जनाएका छन् ।



लोकप्रिय समाचार
नयाँ