नेकपा परित्याग गरि दुई दर्जन युवा कांग्रेसमा प्रवेश
प्रकाशित २०७७ मंसिर २७ शनिबार
102
Shares
काभ्रे। चौरीदेउराली गाउँपालीका–६ (साविकको कात्तिकेदेउराली) बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) परित्याग गरि २ दर्जन बढी युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन। शनिवार काठमाडौमा आयोजित पार्टी प्रवेश तथा चियापान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई तथा नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं. १ का सभापति तिर्थ लामाले नवप्रवेशी युवाहरुलाई खादा ओडाएर सदस्यता प्रदान गरेका हुन्।
‘लामो समय कम्युनिष्ट पार्टीमा त्याग गरियो, तर उनीहरु जनताप्रति कत्ति पनि उत्तरदायी नभएको महसुस गरेपछि नयाँ उर्जासहित काम गर्न नेपाली कांग्रेसमा आवद्ध भएको हुँ’ नवप्रवेशी युवा व्यवसायीसमेत रहेका सुरेश चौलागाईले भने –‘जनतालाई जसरी हुन्छ निर्चोने अनि भ्रष्टाचार, वेथिती र विसंगतीमा रमाउने कम्युनिष्ट प्रवृत्तिको अन्त्यका लागि प्रजातान्त्रिक शक्ति नै चाहिने रहेछ भन्ने आज आएर महसुस भयो।’
कार्यक्रममा केन्द्रिय सदस्य तथा पूर्व माननिय शिवप्रसाद हुमागाइले विगतका हरेक घटनाक्रममा होस या अहिलेको विकराल अवस्था होस, देशलाई निकास दिने एउटै मात्र शक्ति नेपाली कांग्रेस भएको बताउदै यसका लागि युवाशक्ति अपरिहार्य भएको र सबै युवाहरुलाई प्रजातान्त्रिक शक्तिमा एकतावद्ध हुन आव्हान गरे।
नेपाली कांग्रेस प्रतिनिधीसभा क्षेत्र नं. १ का सभापति तिर्थ लामाले नवप्रवेशी युवाहरुलाई पार्टी र संगठनमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्दै अन्य पार्टी प्रवेशका लागि तयार युवाहरुलाई पनि स्वागतका लागि आफुहरु आतुर रहेको बताए।
कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सचिव दिनेश लामा, कोषाध्यक्ष तथा प्रदेशसभा उम्मेदवार सिवी लामा, प्रदेशसभा क्षेत्र नं. १ का सभापति राम लामा, सचिव गुणराज मोक्तान, नेपाल तरुण दल काभ्रेका सभापति दावा लामा, नेपाल शिक्षक संघका पूर्वअध्यक्ष आश्विन चौलागाई, चुडाप्रसाद चौलागाईलगायत जिल्ला समिति, क्षेत्रीय समिति, गाँउपालिका तथा वडा समिति, भातृसंगठनका पदाधिकारीहरु तथा क्रियाशिल सदस्यहरुको सहभागीता रहेको थियो।