arrow

प्रचण्डको मन पगाल्न ओलीका दूतहरुको खुमलटारमा लस्कर

बिराटनगरमा जम्मा भएको ओली गुटलाई दमकबाटै काउण्टर गर्ने प्रचण्ड-नेपालको तयारी 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २७ शनिबार
oli-prachanda.JPG

काठमाडौं। एक साताको म्याद गुजारेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार दिउसो आफ्ना विश्वासपात्र शंकर पोखरेललाई प्रचण्ड निवास खुमलटार पठाएका छन् । संवैधानिक परिषदको बैठक बोलाएर स्थायी कमिटी छल्न खोजेका ओलीले प्रचण्डलाई पनि बोलाएर छलफल गरेपनि त्यो छलफल फलदायी नभएपछि आफ्ना दुतहरुमार्फत सन्देश आदानप्रदान गर्ने क्रममा पोखरेल खुमलटार पुगेका हुन् । 

स्थायी कमिटीको बैठकहरु चलिरहेका बेला दुवै पक्षका गुटगत भेला बाक्लिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्ष तथा प्रचण्ड र माधव नेपाल पक्षको गुटगत भेला बाक्लिएसँगै दुवै अध्यक्षले सहमतिको प्रयास गरेको देखाउन पनि चाहेका छन् । शुरुमा ओलीलाई भेट्न पुगेका प्रचण्डसँग सहकार्यको प्रस्ताव राखेका थिए । तर प्रचण्डले त्यसको जवाफ नदिएपछि ओलीले माधव नेपालको साथ छोडेर आउन आग्रह गरेका थिए । शनिवार दिउँसो भने पोखरेलले ओलीसँगै मिलेर जान भोलीको दिनमा अझ सहकार्य घनिभूत बनाउने भन्दै अमूर्त कुरा गरेका थिए । ‘केही अमूर्त विषय लिएर पोखरेलजी आएका थिए त्यसको कुनै अर्थ छैन ओलीले सधै धोका दिएका छन् आज उनले ल्याएको प्रस्तावले प्रचण्डको मन पगाल्न गाह्रो छ’, दाहाल निकट एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार पोखरेलले दुवै अध्यक्ष मिलेपछि नियुक्ति पनि समस्या नपर्ने, मन्त्रालय पुर्नगठन लगायतका विषयहरु पनि मिलाएर लैजान सकिने तथा पार्टीभित्रको सबै विषयहरु प्याकेजमा टुंगो लगाएर जान सकिने प्रस्ताव गरेका थिए । तर प्रचण्डले यो विषयमा छलफल गरेर जान सकिने भएपनि कमिटीबाटै टुंगो लगाउने भन्दै पन्छिएका थिए । यही विषयलाई मूर्त रुप दिने भनेर आइतबार विहानका लागि स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रचण्डलाई भेटघाट गर्ने समय तय भएको छ ।

यसपटक ओलीको अंहकारलाई जसरी पनि पन्छाउने भन्दै प्रचण्ड नेपाल समूहले बहुमतबाट निर्णय गरेर ओलीलाई देखाइदिने मनस्थितिमा पुगेका छन् । प्रचण्ड नेपालले सो योजना बनाएपछि ओलीपक्षले शनिवार विराटनगरमा शक्ति प्रर्दशन गरेको छ । शनिबार ओली पक्षले प्रदेश १ स्तरीय युवासंघको भेला आयोजना गरेको छ। गत सोमबार मात्रै ओली पक्षले विराटनगरमा विद्यार्थीको प्रदेश भेला आयोजना गरेको थियो । ओली पक्षले भेला गरेपछि काउन्टर जवाफ दिन प्रचण्ड र नेपाल पक्षले आइतबारका लागि भेला आयोजना गरेका छन् । भेला प्रधानमन्त्रीको गृहनगर दमकमा हुने दाहाल नेपाल समूहका विद्याथी नेता वासिम आलमले जानकारी दिएका छन् । 

शनिबार ओली पक्षले शक्ती प्रदर्शनसहित भेला गरेको थियो । भेलामा नेकपा नेता पूर्वमन्त्री गोकुल बाँस्कोटाले सम्बोधन गरेका थिए । भेला अघि मोटरसाइल र्याली निकालिएको थियो । ओली पक्षका युवाहरूले प्रचण्ड र नेपाल पक्षलाई शक्ति देखाउन भेला आयोजना गरेको थियो । भेलालाई बाँस्कोटाका अतिरिक्त युवा संघ नेपालका सहसंयोजक रमेश पौडेल, केन्द्रीय सदस्य रोशन बस्नेतले सम्बोधन गरेका थिए । ओली पक्षलाई काउन्टर दिन अर्काे पक्षले पनि शक्ती प्रदर्शन गर्ने तयारी गरेको हो। आइतबार दमकमा विद्यार्थी भेला गर्ने तयारी गरेको नेपाल पक्षले मंगलबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको हो । आइतबार प्रधानमन्त्रीको गृहनगरमा आयोजना हुने विद्यार्थी भेला प्रदेश स्तरीय रहेपनि मंगलबार विराटनगरमा हुने विद्यार्थी र युवाको भेला जिल्ला स्तरीय हुने भएको छ । 

प्रदेशमा गुटगत भेलाको सुरुवात भने प्रधानमन्त्री केपी शर्मा ओली आफैले गरेका हुन् । पार्टी भित्र विवाद चर्किएपछि ओलीले १९ कात्तिकमा प्रदेश १ का आफू निकट नेताहरुलाई ‘जनताको बहुदलीय जनबाद’को बहस वडासम्म पुर्‍याउन निर्देशन दिएका थिए । त्यसयता मदन भण्डारी फाउण्डेशन मार्फत गुटगत गतिविधी बाक्लो छ । २७ कात्तिकमा इटहरी ४ मा प्रदेश कार्यालयको फाउण्डेशनका उपाध्यक्ष गुरु बरालले भर्चुअल भेला मार्फत प्रदेश कार्यालय उद्घाटन गरेका थिए । १० मङ्सिरमा नेपाल र प्रचण्ड पक्षका नेताले इटहरीमा प्रदेशस्तरीय भेला गरेका थिए । त्यसैगरी मंसिर १९मा थापाथली र मंसिर २४मा पेरिस डाडामा नेपाल पक्षले भेलाको आयोजना गरेको थियो ।



लोकप्रिय समाचार
नयाँ