काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार म्यान्चेष्टर डर्बीले बराबरी खेल्दा उपाधिको दावेदार चेल्सी पराजित भएको छ । म्यान्चेष्टर डर्बीमा युनाइटेड र सिटीले बराबरी खेलेका हुन् । युनाइटेडको घरेलु मैदानमा भएको गोल गोलरहित बराबरीमा टुंगिएको हो ।
युनाइटेडले दर्शकविहीन ओल्डट्राफोर्डमा सिटीलाई आतिथ्यता प्रदान गरेको थियो । युनाईटेडका गोलकिपर डेभिड डी जियाले पहिलो हाफमा ग्याब्रियल जिसस र रियाद महरेजको प्रहारलाई असफल बनाएका थिए ।
दोस्रो हाफमा युनाइटेडले पेनाल्टीको माग गरेको थियो । काइल वाल्करले मार्कुस रासफोर्डलाई लडाएपछि युनाइटेडले पेनाल्टीको अपिल गरेको थियो । तर रेफ्रीले भीएआर मार्फत हेर्दा अफसाइड दिएका थिए ।
चेल्सी भर्सेस एभर्टन
उपाधि दावेदार चेल्सीलाई एभर्टनले हराएको छ । एभर्टनले घरेलु मैदानमा चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।
गुडसिन पार्कमा झण्डै २ हजार दर्शकले प्रत्यक्ष हेरेको खेलमा एभर्टनले चेल्सीको १७ खेलको अपराजित यात्रालाई समाप्त गरेको हो । गिल्फी सिगुर्डसनले २२ औं मिनेटमा गरेको पेनाल्टी गोल चेल्सीलाई स्तब्ध बनाउन पर्याप्त रह्यो ।
चेल्सीको यस सिजनको यो दोस्रो हार हो ।
अन्य खेलमा वुल्भरह्याम्पटन वान्डेरर्स घरेलु मैदानमा एस्टन भिल्लासँग १–० गोल अन्तरले पराजित भयो । न्यूकासल युनाइटेडले घरेलु मैदानमा वेष्टब्रोविच आल्बियनलाई २–१ गोल अन्तरले हरायो ।
अंक तालिका
११ खेलबाट टोटनह्याम हट्सपरको २४, ११ खेलबाट लिभरपुलको २४, चेल्सीको १२ खेलबाट २२, लेस्टर सिटी ११ खेलबाट २१, वेष्टह्याम १२ खेलबाट २०, साउथह्याम्पटन ११ खेलबाट २०, एभर्टन १२ खेलबाट २०, म्यान्चेस्टर युनाइटेड ११ खेलबाट २० अंकसहित क्रमशः पहिलोदेखि आठौं स्थानमा छ । म्यान्चेस्टर सिटी ११ खेलबाट १९ अंकसहित नवौं स्थानमा छ ।