काठमाडौं । अमेरिकी सरकारले जनतालाई सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भएको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोपलाई आकस्मिक प्रयोगमा अनुमति दिएको अमेरिकाले सोमबारदेखि जोखिम क्षेत्रका अमेरिकीलाई खोप लगाउन थाल्ने भएको हो ।
खोपको पहिलो तीस लाख डोज छिट्टै नै सबै राज्यमा पुर्याइने बीबीसीले लेखेको छ । फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप ९५ प्रतिशत सुरक्षित भएको अमेरिकाको खाद्य तथा औषधि विभाग (एफडीए) ले जानकारी दिएको छ ।
एनडीएका अनुसार यो निकै महत्वपूर्ण छ । एनडीएलाई दवाव परेपछि गत शुक्रबार फाइजर र बायोएनटेकको कोरोना भ्याक्सिन प्रयोगका लागि आपतकालीन स्वीकृति दिइएको हो ।
सोमबार अमेरिकाको विभिन्न राज्यका १४५ स्थानमा र मंगलबार ४२५ स्थानमा खोप दिइने छ ।
विश्वकै सबैभन्दा प्रभावित अमेरिकामा अहिलेसम्म १ करोड ६५ लाख ४९ हजार ३६६ जना कोरोनाका संक्रमित रहेका छन् । तीमध्ये सक्रिय संक्रमितको संख्या ६५ लाख ९९ हजार ९५९ रहेको छ ।
अहिलेसम्म ३ लाख ५ हजार ८२ जनाको ज्यान गइसकेको छ । २७ हजार ५२३ को स्वास्थ्य गम्भीर रहेको छ ।