arrow

जान्न जान्न भनेको बैठकमा गए केपी ओली, वारपारको मूडमा नेताहरु

यी तीन कारणले ओलीलाई हटाउन चाहन्छन् प्रचण्ड-नेपाल पक्ष

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २८ आइतबार
PM-OLI1.jpg

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटिको  बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन्। जान्न जान्न भनेको स्थायी कमिटी बैठकमा केपी ओली सहभागी भएपनि सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादलाई यसपटक ‘कि वार कि पार’ को अवस्थामा पुर्याउने तयारी थालिएको छ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेस गरेका छुट्टाछुट्टै प्रतिवेदनले विवादलाई कि वार कि पारको अवस्थामा पुर्याउन लागिएको हो। कार्यकारी अध्यक्ष दाहालले पेस गरेको प्रतिवेदनलाई ओली पक्षले आरोपपत्र मान्दै त्यसको जवाफ पेस गरेको र दाहाल पक्षले त्यही प्रतिवेदनलाई सचिवालाय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा लगेर पास गराउने योजना बनाएपछि लडाइँ वारपार हुन लागेको हो।

खासगरी प्रचण्ड र माधव नेपाल पक्षले ओलीलाई कुनै एक पदबाट हटाउनै पर्ने दबाब दिएपछि लडाई वार कि पारको अवस्थामा पुगेको हो। प्रचण्ड र नेपालले यसपटक ओलीलाई गलाएर एउटा पदबाट बाहिर राख्न हरप्रयास गरिरहेका छन्। उनीहरुले ओलीको सर्वसत्तावादी चरित्र र स्वाभावका कारण आफू निकै प्रभावित भएको बताउदै ओलीलाई साइजमै ल्याउनका लागि पनि एउटा पदबाट हटाउन लागि परेका हुन्।

‘विवादले पार्टीलाई निकै कठिन मोडमा पुर्याएको छ दुवै पक्ष कुनै न कुनै रूपमा अहिलेको विवाद टुंग्याउने पक्षमा छन्। ओली समूह दाहालको प्रतिवेदन फिर्ता गरे भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गर्ने पक्षमा रहेको र दाहाल पक्ष बहुमतको निर्णयबाट ओली समूहलाई तह लगाउने अवस्थामा पुगेकै कारण विवाद वारपार हुने चरणमा रहेको छ’, नेकपा स्रोतले भन्यो।

स्रोतका अनुसार प्रचण्ड–नेपाल पक्ष यो बेला नै कित्ता क्लियर गर्न चाहन्छन्। उनीहरुले अहिले ओलीलाई गलाउन नसके वा ओलीबाट पार्टीको नेतृत्व लिन नसके आफूहरुको राजनीतिक भविष्यनै डामाडोल हुने आशंका सहित वारपारको मनस्थितिमा पुगेका हुन् छि खास गरी ओलीले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने भनेपनि प्रचण्ड नेपाल दुवै नेताहरु निकै शंसकित भएका छन्।

त्यसो हुनुका पछाडि ओलीले नयाँ पुस्ता भनेर ईश्वर पोखरेल, सुवास नेम्वांङ वा शंकर पोखरेललाई अघि सारेर अन्य नेताहरुलाई पिछलग्गु बनाउने योजना बनाएको उनीहरुको आशंका छन। छिमेकी मुलुक भारतको समेत राजनीतिलाई हेर्दा लालकृष्ण आडवाणी जस्ता नेताहरुलाई पछि पारेर भारतीय राजनीतिमा जसरी नरेन्द्र मोदीलाई अघि सारियो नेपालमा पनि प्रचण्ड–नेपाल वा अन्य नेताहरुलाई पछाडि राखेर पछिल्लो पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने ओलीको योजना रहेको भन्दै उनीहरु अहिलेको यो विवादलाई यही वारपार गर्न चाहन्छन्।

साथै प्रचण्ड –नेपाल समूहले अहिलेको सरकार सबैभन्दा पनि भ्रष्ट रहेको र यसले जनातमा नेकपालाई नाम भन्दा बढी बद्नाम गराएका कारण अर्को चुनावमा पार्टी कुनै कुनै रुपमा हार्न सक्ने आशंका रहेकाले ओलीलाई सरकार वा पार्टीको नेतृत्वबाट हटाउन चाहेका छन् । त्यस्तै अर्को कारण पार्टीभित्र नेपाल पक्षलाई किनारा लगाउने र प्रचण्ड पक्षलाई हात लिएर राज्य सत्ता सञ्चालन गर्ने ओलीको दाउमा नेपाल पक्ष बाधक भएपनि प्रचण्ड समेत ओलीसँग चिढिएका छन् । यस्तो बेलामा पार्टीभित्रको विवादे उग्र रुप लिदै गर्दा ओली पार्टी विभाजनको पक्षमा रहेको विश्लेषण प्रचण्ड–नेपाल पक्षको रहेको छ। पार्टी विभाजन भएपनि अहिले यसको टुंगो लागोस निर्वाचनको बेलासम्म पार्टीको अवस्था बलियो बनाउन सकियोस भन्ने चाहना प्रचण्ड–नेपाल पक्षको रहेको छ। माथि उल्लेखित तीन वटा कारणले अहिले नै नेकपाको विवाद वार कि पारको अवस्थामा पुगेको स्रोतको दावी छ।

‘अध्यक्ष ओली दाहालको प्रतिवेदन फिर्ता होस् भन्ने चाहनुहुन्छ। दाहाल भने सबै कमिटीमा लगेर पास गराउने खेलमा हुनुहुन्छ। त्यसकारण दुवै पक्षले लडाइँलाई वारपार गर्नेगरी आआफ्नो सर्कलमा क्रियाप्रतिक्रिया दिइरहेका छन्। यसले गर्दा अबका बैठकहरू निकै पेचिला हुनेछन्,’नेकपा स्थायी कमिटीका एक सदस्यले भने । उनका अनुसार ओलीले सधैं धोका दिएकै कारण दाहाल पक्ष अहिले सकेसम्म स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा गएर वारपार गर्ने अवस्थामा छन् । ‘ओलीले हामीलाई सधैं हेपाहा नीति र व्यवहार गरे अब यसबाट भाग्ने होइन, सामूहिक लडाइँमा सामेल हुने हो भनेर दाहाल पक्षका नेताहरू लाग्नुभएको छ,’ दाहालनिकट एक स्थायी कमिटी सदस्यले भने । ओलीले बहुमत अल्पमत खेलमा नलाग्ने घोषणा गरिसकेका छन्।

‘कुनै पनि महाधिवेशन र अधिवेशनहरूबाट निर्वाचित नभएका, महाधिवेशनसम्मको संक्रमणकालीन व्यवस्थाका लागि भनेर बनाइएका र सहजतापूर्वक महाधिवेशन आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने मुख्य अभिभारा भएका अन्तरिम कमिटीहरूलाई अल्पमत र बहुमतको खेल खेल्ने थलो नबनाऔं । हाम्रो विधान र नियमावली पनि अधिवेशनसम्म हामीलाई मार्गदर्शन गर्न बनाइएका अन्तरिम प्रबन्धहरू हुन्।

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का दुई अध्यक्षले सहमतिका साथ अघि बढ्ने प्रतिबद्धता र एकीकरणका सम्पूर्ण काम सम्पन्न गर्न एकता महाधिवेशन गर्ने प्रयोजनका लागि सहमतिका साथ र मनोनयनका आधारमा बनाइएका यी कमिटीहरूलाई महाधिवेशन/अधिवेशन आयोजना गर्ने मुख्य उद्देश्यबाट बरालिन नदिऊँ,’ ओली पक्षका एक नेताले भने। तर प्रचण्ड –नेपाल पक्षले  अहिलेसम्म आइपुग्दा पार्टी र सरकार दुवै प्रजातान्त्रिक र लोकतान्त्रिक मूल्य मान्यतामा सञ्चालन हुन नसकेको सबैभन्दा बढी हेपाह र पेलाह नीतिमा ओली रहेका कारण कुनै एक पदबाट हटाउनै पर्ने जनाएका छन् ।  

प्रचण्ड–नेपाल समूहले कमिटीगत निर्णय गर्नुपर्ने भन्दै ओलीले पार्टीको विधिविधान नमानेको पद्धति अस्वीकार गरेको आरोप लगाएर स्थायी कमिटी र केन्द्रीय कमिटीमै छिनोफानो गर्ने जनाउदै ओली विना पनि स्थायी कमिटी बैठक राखेर देखाइसकेका छन् । ओलीले समान हैसियतका पाँच नेतालाई हेपाहा व्यवहार गरेका कारण प्रचण्ड समूहले भने आफ्नो प्रतिवेदन तीनवटै कमिटीको बैठकमा बहुमतले पास गराउने रणनीति तयार गरेको छ । ‘कमिटीमा आएका प्रतिवेदनमाथि पार्टी कमिटीमा रहेका सदस्यहरूले छलफल गर्न पाउनुपर्‍यो। सुटुक्क ल्याउने सुटुक्क फिर्ता गर्ने अवस्थामा राख्नुहुँदैन। चलायमान कमिटीमा यसले प्रवेश पाउँछ र संस्थागत रूपमै निर्णय गर्छ, फिर्ता गर्नुपर्ने भए पनि कमिटीकै निर्णयबाट फिर्ता हुन्छ,’ प्रचण्ड  समूहका एक नेताले भने ।



लोकप्रिय समाचार
नयाँ