काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र टोटनह्याम हट्सपरले आफ्ना खेल बराबरी खेल्दा आर्सनल पराजित भएको छ । आइतबार राति भएको खेलमा लिभरपुलले फुल्हमसँग र टोटनह्यामले क्रिस्टल प्यालेससँग १–१ गोलको बराबरी खेलेको हो ।
क्रिस्टलले घरेलु मैदानमा टोटनह्यामलाई रोकेको हो । ह्यारी केनले टोटनह्यामलाई अग्रता दिए पनि जेफरीले क्रिस्टललाई बराबरीमा ल्याएका थिए ।
त्यस्तै लिभरपुल फुल्हमसँग उसकै मैदानमा रोकिन पुग्यो । २५ मिनेटमै बोबी रेडले गोल गर्दै अग्रता दिलाएकामा ७९ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत बराबरी गोल गरेका थिए ।
आर्सनल भने पराजित भएको छ । आर्सनल घरेलु मैदानमै बर्नलीसँग पराजित भएको हो । आर्सनल १–० गोल अन्तरले पराजित भयो । खेलको ५८ औं मिनेटमै ग्रानिट जाकाले रातो कार्ड खाएपछि आर्सनल १० जनामा सीमित भयो । ७३ औं मिनेटमा पेर्रे एम्रिक औबामायेले आत्मघाती गोल गरेपछि आर्सनल पराजित भयो ।
अन्य खेलमा साउथह्याम्पटनले शेफिल्ड युनाइटेडलाई ३–० गोल अन्तरले हरायो भने लेस्टर सिटीले ब्राइटनमाथि ३–० गोल अन्तरको जित निकाल्यो ।
अंक तालिका
तालिकामा १२ खेलबाट टोटनह्यामको २५, लिभरपुलको २५, लेस्टरको २४, साउथह्याम्पटनको २३, चेल्सीको २२ अंक छ । म्यान्चेस्टर युनाइटेडको २० र म्यान्चेस्टर सिटीको १९ अंक छ ।