arrow

गौतमलाई फकाउँदै ओली

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर २९ सोमबार
oli-bamdev.jpg

काठमाडौं। आन्तरिक विवादमा गुज्रेको सत्तारूढ पार्टी नेकपा भित्रको विवाद अहिले स्थायी कमिटीमा पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतम र सचिवलाय सदस्य रामबहादुर थापा वादलमाथि भरोसा गरेका छन्। गौतमलाई कुनै एउटा मन्त्रालयसहित उपप्रधानमन्त्री दिएर सरकारका सहभागी गराउने र प्रधानमन्त्रीको समेत कार्यक्षेत्र हेर्न लगाएर मनाउने कोसिस शुरु भएको छ भने वादललाई आगामी महाधिवेशनपछि पार्टी भित्रै राम्रै जिम्मेवारी दिने आश्वासन दिइएको छ।

वादल यसअघि पनि ओली सरकारको निरन्तरताको पक्षमा रहेकाले ओलीले उनलाई पार्टीभित्रै अर्को नयाँ जिम्मेवारीमा राख्ने आश्वासन दिइएको तथा उनीसँग रहेका नेताहरुलाई पनि आगामी दिनमा सहयोग गर्ने आश्वसन दिइएको स्रोतको दावी छ। त्यस्तै गौतमलाई सरकारमा सहभागी गराइयो भने आधा समस्या समाधान हुने ओलीको बुझाई छ। ‘अर्थ र सञ्चारबाहेक गौतमले रोजेको मन्त्रालय दिएर सरकारमा सहभागी हुनुस भनिरहेका छौ’, ओलीनिकट स्रोतले भन्यो। 

अहिले आन्तरिक विवादलाई सचिवालयले समाधान गर्न नसकेपछि स्थायी कमिटीको बैठकमा यो विवादलाई प्रवेश गराइएको भएपनि दुई वटा बैठकमा छलफल समेत हुन सकेको छैन। गत मंसिर २१ बट सुरु भएको स्थायी कमिटी बैठक एक साताका लागि स्थगित गरेर २८ गते बसको थियो। तर २८ गते औपचारिक रुपमा मात्रै बसेर पुस १ गतेका लागि बोलाइएको छ।

पार्टीका सबै कमिटीमा अल्पमतमा रहेका अध्यक्ष केपी ओली समूहले यो एक हप्ताको समय जतिसक्दो आफ्नो पक्षमा बहुमत जुटाउने तर कुनै हालतमा नगल्ने प्रयोजनमा खर्चिने नीति लिएको भएपनि त्यो सफल हुन सकेन। उपाध्यक्ष वामदेव गौतम र रामबहादुर थापा वादललाई कसरी हुन्छ हात लिन सबै प्रयत्न गर्ने तयारी भएपनि वादल बाहेक गौतमको हकमा उपलब्धी हासिल हुन सकेन।

पार्टी र सरकार दुवै एकलौटी रूपमा चलाएको भन्दै अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाललगायतको ठूलो समूहले अध्यक्ष ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद छाड्न दबाब सिर्जना गर्दै आएको छ। तर ओलीले एक पद पनि नछाड्ने अडान छाडेका छैनन्। यद्यपि, स्थायी कमिटी बैठक कुनै समाधान दिने निष्कर्षमा पुग्दा आफूले यही समीकरणीय अवस्थामा पद जोगाउन नसक्ने बुझेका ओलीले अन्तिम भरोसा गौतम र वादलमाथि राखेको छन्। प्रचण्ड र नेपालले यसपटक एउटा पदबाट ओलीलाई हटाइछाड्ने अडान कायमै राखेका छन्। त्यही बुझेर ओलीले आफ्नो पक्षमा गौतम र वादललाई साथ लिने कोसिस गरेपनि गौतमको हकमा असफल भएको स्रोतको दावी छ।

विगतमा उधारो आश्वासन दिएर सजिलै आफ्नो पक्षमा पारेका ओलीले यसपटक भने गौतमलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय प्रस्ताव गरिरहेका छन्। तर, यसपटक गौतम कुनै हालतमा उनको जालमा नफस्ने प्रचण्ड नेपालले आँकलन गरेका भएपनि ओली पक्षले उनलाई सरकारमा ल्याएर प्रचण्ड नेपाललाई साइजमा राख्ने कोसिसमा रहेको छ। विधि र पद्धतिका पक्षमा दृढसँग उभिएका गौतमले यसअघि गरिएको उपप्रधानमन्त्री आश्वासन पनि ठाडै अस्वीकार गरेका थिए।

पहिले आफैंले राष्ट्रिय सभामा ल्याउने आश्वासन दिएर महिनौं झुलाउने, पद लोलुपता देखाएर बदनाम गराउने काम ओलीबाटै भएको भन्नेमा गौतम राम्रैसँग जानकार भएको बताइन्छ। त्यसमाथि पछिल्लो समय बालुवाटारबाटै उनका पुराना तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेर बदनाम गर्ने काम भएपछि उनी थप रुष्ट भएका थिए।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव आरोपपत्र मात्र भएकाले उक्त प्रस्ताव फिर्ता हुनुपर्ने अध्यक्ष ओलीको भनाइलाई कडा तरिकाले गौतमले नै प्रतिवाद गरेका थिए। उक्त प्रस्ताव प्रचण्ड एक्लैको नभएर हामी सबैको हो भन्दै गौतमले आफूलाई पार्टीभित्रको बेथितिविरुद्ध सशक्त रूपमा आएको संकेत गरेका थिए।



लोकप्रिय समाचार
नयाँ