काठमाडौं। नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार बिरुद्ध आह्वान गरिएको देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको बताएका छन्। एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाट नै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको देउवाले एक विज्ञप्ती निकाली भनेका छन्।
देउवाले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, 'आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको छ । यो उर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु । प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु । प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पुर्याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु।'
देउवाले सामाजिक सञ्जाल मार्फत योगदान पुर्याउने विशेषतः युवा पंक्तिलाई बधाई र सम्मान व्यक्त गरेका छन्।