arrow

परीक्षण कम हुँदा संक्रमण पनि कम, अठार जनाले गुमाए ज्यान

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौँ । कोभिड–१९ को पिसिआर परीक्षण कम हुँदा संक्रमण पनि कम भएको पाइएको छ । केही दिनयता परीक्षण कम हुँदा संक्रमित पनि कम भएको पाइएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार पाँच हजार ४२३ जनामा गरिएको परीक्षणमा ८२१ जनामा संक्रमण देखिएको छ । आइतबार पाँच हजार १८१ नमूना परीक्षण गर्दा थप ८३० जनामा संक्रमण देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले शङ्का र लक्षण भएका मानिस मात्र परीक्षणमा आउने भएकाले संक्रमित दर घटेको बताए । उनका अनुसार परीक्षण गर्ने क्षमताअनुसार मानिस परीक्षण गर्न आउने गरेका छैनन् । 

सोमबार देखिएका संक्रमितमध्ये ३१७ जना महिला र ५०४ जना पुरुष रहेका छन् । सोमबार थपिएकासँगै मुलुकभरि संक्रमितको अवस्था दुई लाख ४९ हजार २४४ जना पुगेको छ । काठमाडौँ उपत्यकामा ३३३ जना संक्रमित थपिएका छन् । तीमध्ये १४२ जना पुरुष र १९१ जना महिला रहेका छन् । 

संक्रमितमध्ये २७३ जना सघन उपचार कक्ष र ५४ जना भेन्टिलेटरमा रहेका छन् । आइसियुमध्ये प्रदेश नं १ मा ३५ जना, प्रदेश नं २ मा आठ जना, वाग्मती प्रदेशमा १०९ जना, गण्डकी प्रदेशमा ७१ जना, लुम्बिनी प्रदेशमा ३५ जना, कर्णाली प्रदेशमा पाँच जना र सुदूरपश्चिम प्रदेशमा १० जना रहेका छन् । भेन्टिलेटरमा प्रदेशन नं १ मा तीन जना, प्रदेश नं २ मा एक जना, वाग्मती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा १० जना, लुम्बिनी प्रदेशमा तीन जना, कर्णाली प्रदेशमा चार जना र सुदूरपश्चिम प्रदेशमा तीन जना रहेका छन् । संक्रमितमध्ये सात हजार ३४० जना होमआइसोलेशनमा छन् । 

संक्रमितमध्ये सोमबार ८४२ जना निको भई घर फर्किएका छन् । नेपालमा निको भई घर फर्किनेको दर ९४.९ प्रतिशत रहेको छ । नेपालमा निको हुने दर पनि बढेको छ । यसअघि यही मङ्सिर २६ गते निको हुने दर ९४.४ रहेको थियो । अहिलेसम्म निको हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५७३ जना रहेको छ । 

संक्रमणबाट बितेको २४ घण्टामा १८ जनाको निधन भएको छ । सोमबार निधन भएकासँगै नेपालमा संक्रमणबाट निधन हुनेको सङ्ख्या एक हजार ७१६ जना पुगेको छ । नेपालमा संक्रमितमध्ये ०.६८ प्रतिशतको निधन हुने गरेको छ । अहिलेसम्म प्रति १० लाखमा ५८.८ जनाको निधन भएको छ । 



लोकप्रिय समाचार
नयाँ