काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै कम तापक्रम मापन भएको छ । बिहानमा निकै चिसो बढेको छ । मंगलबार बिहान ३ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । यसअघि सोमबार तापक्रम ४ डिग्री सेल्सियस रहेको थियो । आइतबार न्यूनतम तापक्रम ४।५ डिग्री रहेको थियो । मौसमविद्हरुले चिसो अझै बढ्दै जाने बताएका छन् ।
मौसमविद् गंगा नगरकोटीले मंगलबार यो वर्षकै सबैभन्दा चिसो उपत्यकामा भएको बताइन् । उनले उपत्यकामा मंगलबार अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म पुग्ने बताइन् । डिसेम्बर २०–२२ सम्म दैनिकजसो तापक्रम घट्दै जाने छ ।
उपत्यकामा बिहान पातलो हुस्सु लागेकोक छ । भिजिबिलिटी ५ किलोमिटर रहेको छ । वर्षा भने मंगलबार देशभर कतै पनि हुने छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको तराईका अधिकांश भूभागमा कुहिरो–हुस्सु लागेको अवस्था छ ।
दिउँसो प्रदेश नं १, प्रदेश २ तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । राति प्रदेश नं १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।
तराईका अधिकांश भूभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।