संखुवासभा । नेपाली कांग्रेसका नेता दीपक खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकार तानाशाही र भ्रष्टाचारी बनेको बताएका छन् । कांग्रेसले सोमबार देशभर गरेको विरोध प्रदर्शनका क्रममा गृहजिल्ला संखुवासभाको विरोध सभालाई सम्बोधन गर्दै पूर्व राज्यमन्त्रीसमेत रहेका नेता खड्काले वर्तमान सरकारले जनताको भोटको दुरुपयोग गरेको आरोप लगाए ।
‘कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको माया कम्युनिष्ट सरकारलाई छैन, वर्तमान सरकारले लोकतन्त्रलाई संरक्षण र विधिको पालना गर्न वर्तमान सरकार सकेन’–उनले भने ।
नेता खड्काले २०६४ सालको संविधान सभाको निर्वाचनपछि बनेको चार कम्युनिष्ट सरकारले संविधान दिन नसकेपछि कांग्रेसका तत्कालीन सभापति स्वर्गीय सुशील कोइराला सरकारले संविधान दिएको बताउँदै संविधान रक्षाको जिम्मा पनि कांग्रेसको काँधमा आएको स्पष्ट पारे ।
संखुवासभाको विरोध सभामा काँग्रेस संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ, पूर्व राज्यमन्त्री तारामान गुरुङलगायत जिल्लाका नेताहरुले सम्बोधन गरेका थिए ।