arrow

सगरमाथा मापनको जस लिने ओली सरकारले कर्मचारीलाई गर्‍यो बेवास्ता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
sagarmatha-hight-survey-team.jpg

काठमाडौं। सरकारले सगरमाथाको मापन गरेको जस त लियो तर अत्यन्त कठिनाइसँग सगरमाथाको मापन गरेका कर्मचारीहरुलाई भने बेवास्ता गर्‍यो। यसकाममा नापी विभागका ८५ जना कर्मचारी खटिएका थिए तर काम सकिए पछि राज्यले उनीहरुको कामलाई सामान्य रोस्पोन्स पनि गरेन।

सरकारले अहिलेसम्म चुचुरोमा पुग्ने दुई जना कर्मचारीहरु रविन कार्की र खिमलाल गौतमलाई पुरस्कार घोषणा गरेको छैन । उनीहरु ज्यानलाई जोखिम राखेर चुचुरामो पुगेका थिए । चुचुरोबाट फर्कदा कार्की करिब ४५ मिनेटसम्म बेहोस भए भने गौतमको खुट्टाको बुढी औला हिँउले खायो । उनीहरुलाई रेस्क्यु गरेर काठमाडौं ल्याइएको थियो।

तर, चुचुरोबाट फर्के पछि प्रधानमन्त्रीले उनीहरुलाई भेट्न पनि चाहेनन् न त वधाई नै दिए । न त, राष्ट्रपतिबाट पनि कुनै स्यावासी पाए । जब कि, सगरमाथा मापनको काममा हिडेका ४ कर्मचारीहरुलाई प्रधानमन्त्रीले आफै विदाइ गरेका थिए । भूमि व्यवस्था मन्त्रालय स्रोतका अनुसार, मन्त्रिपरिषद्को बैठकबाटै सगरमाथाको उचाइ मापन गरेका कर्मचारीहरुलाई पुरस्कार घोषणा गर्न सकिन्थ्यो । तर यसमा प्रधानमन्त्रीले वास्ता गरेनन । जब कि, नेपालकोलागि यो पहिलो प्रयोग थियो । 

‘सगरमाथाको चुचुरोमो पुग्न जति चुनौतीपूर्ण थियो, त्यती नै डाटा प्रोसिङको काम पनि चुनौतीपूर्ण थियो तर यो सबै काम हामीले सफलातपूर्वक गर्‍यौ’ विभागका एक उच्च कर्मचारी भन्छन ‘कथमकदाचित सगरमाथाको उचाइ ८ हजार ८सय ४८ मिटरभन्दा कम निस्केको भए के हुन्थ्यो ? त्यो जोखिम पनि हामी उठाएका थियौ।’

३ वर्ष पहिले तत्कालिन शेरबहादुर देउवा सरकारले सुरु गरेको सगरमाथाको मापनको कामलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली जस भने लिए । २०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री र गणेश भट्ट नापी विभागका महानिर्देशक भएको बेला तत्कालिन सरकारले नेपालले आफ्नै साधन र स्रोत प्रयोग गरेर सगरमाथाको उचाई पत्ता लगाउने निर्णय गरेको थियो। र यस कामकोलागि २५ करोड रुपैयाँ छुट्टाइएको थियो। त्यस लगत्तै विभागले २०१७ डिसेम्वरमा एक अन्तराष्ट्रिय गोष्ठि गरेको थियो ।

उक्त गोष्ठिमा भारत, चीन, अमेरिका, फ्रान्स, बेलायत लगायतका देशका प्रतिनिधिहरुलाई बेलाइएको थियो । २०७२ सालको भुकम्पको कारण सगरमाथाको उचाई फेरबदल भएको हुन सक्ने अनुमान विज्ञहरुले गरेका थिए । विभागले पछिल्लो अत्याधुनिक प्रविधि र परपम्परागत प्रणाली प्रयोग गरेर सगरमाथाको उचाइ मापन गरेको जनाएको छ ।

यसअघि, सगरमाथाको उचाइ ८ हजार ८सय ४८ मिटर मानिएको थियो । नेपालले आफ्नै साधन र श्रोतबाट गरेको मापनमा सगरमाथाको चुचुरो केही थोरै बढेर ८ हजार ८ सय ४८ दशमलब ८६ पुगेको छ । यसअघि, सन् १९५४ मा भारतको जिएल गुलाटी कम्पनीले गरेको मापनलाई नेपाल लगायत विश्वले मान्यता दिएको थियो । तर यसपटक नेपालले आफै गरेको मापनलाई नेपाल, चीन लगायत अन्तराष्ट्रिय जगतले मान्यता दिएको छ ।

नेपालले आफ्नै साधन र स्रोतबाट सगरमाथाको उचाइ मापन गरिरहेको बेला चीनले पनि उत्तरी मोहोडाबाट सगरमाथाको उचाइ मापन गरेको थियो । गत वर्ष चिनियाँ राष्ट्रपति नेपाल आउँदा नेपाल र चीनले एकैपटक सगरमाथाको उचाइ मापन सार्वजनिक गर्ने सहमति गरिएको थियो। उक्त सहमति अनुसार गत मंगलबार एकै पटक नेपाल र चीनले सगरमाथको उचाइ सार्वजनिक गरेका हुन् ।



लोकप्रिय समाचार
नयाँ