काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या अढाई लाख नाघेको छ । मंगलबार ९ सय ३६ जना कोरोना संक्रमित थपिएसँगै देशभर कोरोना संक्रमितको संख्या दुई लाख ५० हजार १८० पुगेको हो ।
२४ घण्टामा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर सात हजार ११७ जनाको पिसिआर परीक्षण भएकोमा ५८५ पुरुष र ३५१ महिला गरी ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
अहिले देशभर नौ हजार ८८१ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ९९६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ३८ हजार ५६९ पुगेको छ । कोरोना निको हुनेदर ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ ।
नेपालमा हालसम्म १८ लाख ४३ हजार ५८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २६४ पुरुष र १७४ महिला गरी ४३८ जना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या एक हजार ७७० पुगेको छ । होमआइसोलेसनमा छ हजार १०३ जना छन् । त्यस्तै सघन उपचार कक्ष (आइसियु)मा ३२१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् ।