arrow

बैठकमा किन गएनन् सभामुख ?

logo
प्रकाशित २०७७ मंसिर ३० मंगलबार
agni-sapkota2.jpg

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको बताएका छन् । 

 सभामुख सापकोटाका तर्फबाट उनका प्रेसविज्ञ श्रीधर न्यौपाने मंगलबार जारी गरेको प्रेस नोटमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उनले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै छ ।”

संवैधानिक परिषद्को बैठकका सम्बन्धमा सभामुख सापकोटाको विषयमा जोडेर आएका प्रचारका सन्दर्भमा स्पष्ट पार्न प्रेस नोट जारी गरिएको बताइएको छ । यही मङ्सिर २८ गते सङ्घीय संसद् सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत बिहान ८:३० बजे सङ्घीय संसद्, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले आफ्नै अध्यक्षतामा आयोजना गरिएकाले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसक्नुभएको प्रेस नोटमा उल्लेख छ । 

सोसम्बन्धी जानकारी यसअघि नै गराइसकिएको थियो । त्यसदिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ ।  मंगलबारको बैठकका सम्बन्धमा सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनुभएको प्रेस नोटमा उल्लेख छ । प्रेस नोटमा भनिएको छ, “राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उनको स्पष्ट मान्यता छ ।” 

“नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाको विपक्षीदलको नेतासमेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात् गर्नुभएको छ”, प्रेस नोटमा भनिएको छ,

उनले संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई हृदयङ्गम गरी जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएको उल्लेख गरेका छन् । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उनले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै रहेको स्पष्ट पारिएको छ । 

प्रेस नोटमा भनिएको छ, “उन सङ्घीय संसद्को गरिमा कायम राख्दै संवैधानिक परिषद्को मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत हुनुहुन्छ ।” रासस



लोकप्रिय समाचार
नयाँ