काठमाडौं। नेपाल नागरिक अभियानले सनातन हिन्दु राष्ट्रसहित राजसंस्था पुर्नबहालीका लागि भोली बसन्तपुरमा ऐक्यवद्धता सभाको आयोजना गर्ने भएको छ। आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानले बसन्तपुरको हनुमानढोका राज प्रसाद पटाङ्गिनिमा ११:४५ बजे कार्यक्रम गर्ने जानकारी दिदै उपस्थित भएर ऐक्यवद्धता जनाउन उपत्यकावासीलाई अपिल गरेको हो।
नागरिक अभियानका राष्ट्रिय संयोजक पूर्व एआइजी डा. ठाकुरमोहन श्रेष्ठले हिन्दुराष्ट्रसहितको राजसंस्था जतिसक्दो छिटो पुर्नबहाली गरी देशलाई संकटबाट जोगाउनुपर्ने भन्दै उपत्यकावासीलाई अभियानमा सहभागी भइदिन अपिल गरेका छन्। उनले भने, ‘देशलाई जोगाउन जतिसक्दो छिटो संघियता खारेज गरेर सनातन हिन्दुराष्ट्र सहित राजसंस्था पुर्नबहाली गर्नु पर्छ ।’ उनले २०७७ पुष १ गते बुधबार महेन्द्र जयन्तीको दिनमा महेन्द्र शालिकमा माल्यार्पण कार्यक्रम गर्ने र ११ः४५ बजे हनुमान ढोका राज प्रसाद पटाङ्गिनिमा भेला हुने जानकारी दिए । श्रेष्ठले देश भ्रष्टाचारमा चुर्लुम्ब डुबेकोले यो राजनीतिक प्रणालीबाट जनताले दुःख पाएको तर्क गरे । जनतालाई पीडाबाट मुक्त गर्न राजनीतिक प्रणालीमै परिवर्तन ल्याउनुपर्ने बताए।
अभियानका महासचिव डा. हरिहर प्रदीप घिमिरेले देशमा हिन्दु राष्ट्र र राजसंस्था पुर्नबहाली निश्चित भएको बताए। उनले राष्ट्रवादी शक्ति सबै एक ठाउँमा उभिएर अभियानलाई सफल बनाउनुपर्ने बताए। नेपाल नागरिक अभियानका केन्द्रीय अभियन्ता हेम रत्न शाक्यले जनताले गणतन्त्रबाट निकै प्रताडना भोग्नुपरेको बताए। उनले अब हिन्दुराष्ट्रसहितको राजसंस्था अनिवार्य भएको बताए।
पुर्न उत्थानवादि शक्ति अध्यक्ष शेखरजङ्ग रायमाझीले मुलुक अहिले संकटमा रहेको भन्दै गणतन्त्रको तत्काल अन्त अनिवार्य भएको बताए । देशमा बेरोजगारी बढेको र अनियमितताले हद नाघेको भन्दै सबै एक भएर हिन्दुराष्ट्र र राजसंस्था पुर्नबहालीमा एकजुट हुनुपर्नेमा जोड दिए । उनले भने, ‘मुलुकको रक्षाको लागि एक भएर अगाडि बढ्न राष्ट्रिय एकता बनाउन जरुरी छ । लोकतान्त्रिक गणतन्त्र भन्नेहरु सत्तामा छन् र गणतन्त्र र लोकतन्त्रको धज्जी उडाईरहेका छन् ।’
शिवसेनाका सह–अध्यक्ष दिनेश कँडेलले नागरिकको मुक्तिको लागि हिन्दुराष्ट्र र राजसंस्थाको लागि ऐक्यवद्धता अभियान चलाएको बताए । गणतन्त्र र लोकतन्त्र भन्नेहरु अहिले लाचार भएर डगमगाइरहेको बताए । उनले पहिलो चरणको आन्दोलनले हल्लाएको गणतन्त्रलाई दोस्रो चरणको आन्दोलनले ढालिदिने बताए । दोस्रो चरणको आन्दोलनको लागि छलफलमा रहेको पनि जानकारी दिए ।
स्वतन्त्र नागरिक समाजका अध्यक्ष हेम बिक्रम सिलवालले सबै नागरिक एकजुट हुने बेला आएको बताए । ‘नेपालको वास्तविक कम्युनिस्ट भनेको नै राजा हुन्’ सिलवालले भने, ‘देशलाई सनातन हिन्दु राष्ट्र र राजा सहिको प्रजातन्त्र पुर्नबाहाली गर्न अहिलेको आवश्यकता हो ।’ कार्यक्रममा बोल्दै समाजसेवी राजन महर्जन आफ्नो लागि राजा र भगवान कहिले नमर्ने बताए । उनले भने, ‘देश अहिले लथालिङ्ग भएको छ, सत्तामा बसेकाले देश बेचेर खाईसके अब भक्तपुर ललितपुर र काठमाडौका नागरिक जाग्न जरुरी छ।’
उपत्यकाका युवा जनशक्तिका संयोजक मनिष मानवले अब युवा एकजुट हुन जरुरी रहेको बताउदै कोरोनाको नाममा लुटतन्त्र भएको जिकिर गरे । जातिय आधारमा झगडा गराउन खोजेको आरोप समेत लगाए । राजसंस्था पुर्नस्थापनका लागि भक्तपुर, ललितपुर र काठमाडौका नेवारहरु अब जाग्न जरुरी छ उनले भने।
यसैगरी, अभियानले नेपालको पहिचान सनातन हिन्दु राष्ट्र कायम गरी सबै धर्मावलम्बीहरुलाई आ–आफ्नो धर्म परिर्वतनलाई निषेध गर्न गराउन, संवैधानिक राजसस्था सहितको प्रजातन्त्र पुर्नस्थापना गराउन, चरम भ्रष्टाचार, अनुत्तरदायीपन तथा भुमाफिया प्रवत्तिलाई निषेध गरी अवैध सम्पत्ति कब्जा गरी राज्यकोषमा जम्मा गराई निशुल्क स्वास्थ्य र शिक्षामा उपयोग गर्न, राज्य व्यवस्थामा राजनिति, न्यायपालिका र प्रशासनलाई अलग रुपमा परिभाषित गर्ने , स्वतन्त्र र निष्पक्ष न्याय प्रणली कायम गराउन र छिमेकी राष्ट्रहरुसँग असलग्न परराष्ट्र नीतिका आधारमा छिमेकी देशहरुको सुरक्षामा खलल हुने गरी कुनै पनि गतिविधि हुन नदिने र नेपालको रक्षा सुरक्षामा कतैबाट हस्तक्षेप हुन नदिन माग राखेको छ।