काठमाडौं। पार्टीको निर्णय अनुसार नचल्दा पार्टी र प्रतिपक्षको घेराबन्दीमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सुरक्षित रहन विभिन्न विकल्पहरु प्रस्तुत गर्न सक्ने आँकलन गरिएको छ। पार्टीका सबै कमिटीमा संख्याको हिसावले ओली पछाडि पर्दा उनी आफ्नो सत्ता सुरक्षाका विभिन्न विकल्पहरु पनि सिमित हुन पुगेका छन।
सत्ताको नेतृत्वमा निरन्तरता सुनिश्चित गर्न पार्टी विभाजन गरी प्रतिपक्ष नेपाली कांग्रेससँग गठबन्धन सरकार निर्माण गर्नु ओलीको पहिलो विकल्प हुन सक्छ। यस्तै दोस्रो विकल्पमा मन्त्रिपरिषदमा आफूपक्षीयलाई मात्रै समावेश गरी संसद विघटन गर्नु हुन सक्न अवस्थातिर पनि उनको दोस्रो विकल्प रहेको स्रोतको दावी छ। साथ साथै संविधानका केही धारा निलम्बन गरी मुलुकमा संकटकालको घोषणा गर्ने ओलीको तेस्रो विकल्प हुन सक्छ।
तर संसदले अनुमोदन नगर्दाको अवस्थामा राष्ट्रपति विद्यादेवी भण्डारी आलोचना र निन्दाको पात्र हुने हुनाले ओलीले अपनाउने तेस्रो विकल्पको सम्भावना निकै कम देखिन्छ। चौथो र अन्तिम विकल्पमा मात्रै ढिलै भएपनि बहुमतको सम्मान गर्दै कम्तिमा एक पद त्यागी सहमतिको वातावरण बनाउने कोशिस ओलीले गर्ने गरी अघि बढ्ने संभावना पनि उत्तिकै रहेको छ।
यसका लागि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी लगायतसँग परामर्श गरिरहेका छन्। सरकारको बचाउमा लागेका नेताहरुले यस्तो विकल्पमा नजान सुझाव दिएपनि ओलीले यो विषयमा विज्ञहरुसँग पनि परामर्श गरिरहेको स्रोतको दावी छ।