काठमाडौं । लोकतन्त्रवादी कानुन व्यवसायीहरुको संगठन नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) की महासचिव लक्ष्मी दाहाल रावलले प्रतिपक्षी, नागरिक समाज र आफ्नै पार्टीको तीब्र विरोधका कारण एकपटक लज्जास्पद ढङ्गले चारै दिनमा फिर्ता लिनु परेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गरेर वर्तमान ओली सरकारले आफ्नो अधिनायकवादी र लोकतन्त्रविरोधी सर्वसत्तावादी चरित्र उदाङ्ग पारेको बताएकी छिन् ।
उनले संविधान र संसदीय प्रणालीको मूल्य र मान्यता विपरित जारी गरिएको यस अध्यादेशमा लोकतान्त्रिक प्रणालीलाई ध्वस्त बनाउने अभिष्ट लुकेको समेत स्पष्ट पारेकी छिन् ।
सरकारले मंगलबार संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि डिएलएको यो प्रतिक्रिया आएको हो । उनले संविधानको सारवस्तु लोकतान्त्रिक गणतन्त्र र संसदीय शासन प्रणालीलाई क्षतविक्षत बनाएर मुलुकलाई पुनः प्रतिगामी दुश्चक्रमा फसाउने षड्यन्त्रको परिणामस्वरूप आएको अध्यादेशलाई तत्काल फिर्ता लिन जोडदार माग गर्दै अन्यथा यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितिको पनि सरकार जिम्मेवार हुने चेतावनीसमेत दिएकी छिन् ।