काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा रियाल मड्रिडले लगातार चार खेलमा जित निकालेको छ । करिम बेन्जिमाले दुई गोल गरेपछि रियाल शीर्ष क्लबमा पुग्न सफल समेत भएको छ । मंगलबार राति भएको खेलमा रियालले एथ्लेटिक बिल्बाओलाई ३–१ गोल अन्तरले हरायो ।
एथ्लेटिकका राहुल गर्सिया १३ मिनेटमै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पाहुना टोली १० खेलाडीमा सिमिति बन्यो ।
टोनी क्रुसको गोलमा रियालले ४५ औं मिनेटमा १–० ले अग्रता लियो । दोस्रो हाफ सुरु भए लगत्तै एन्डर कापाले ५२ औं मिनेटमा पाहुना टोली एथ्लेटिकलाई बराबरीमा ल्याए ।
त्यसपछि करिम बेन्जिमाले लगातार दुई गोल गर्दै रियाललाई शीर्ष क्लबमा पुर्याउन सफल भए ।
७४ औं मिनेटमा पहिलो गोल गरेका बेन्जिमाले इन्जुरी समयमा अर्को गोल थप्दै टिमलाई जिताए ।
डिफेन्डिङ च्याम्पियन रियालले पछिल्ला चार खेलमा जित निकाल्दै पुरानै लयमा फर्किने संकेत दिएको छ ।
जितसंगै रियालले शीर्ष क्लब रियाल सोसिडाड र एट्लेटिको मड्रिडसंग अंक बराबरी गरेको छ । शीर्ष स्थानमा रहका तीनै क्लबको समान २६ अंक छ । गोल अन्तरले रियाल तेस्रो स्थानमा छ ।
सोसिडाडले १३ खेलबाट, एथलेटिकोले ११ खेलबाट र रियालले १३ खेलबाट २६ अंक जोडेको छ । डिफेन्डिङ रनर अप बार्सिलोना भने १७ अंकसहित आठौं स्थानमा छ ।