arrow

भक्तजनका लागि खुल्यो पशुपतिनाथ मन्दिर

logo
प्रकाशित २०७७ पुष १ बुधबार
pashupatinath-temple.jpg.jpeg

काठमाडौँ । गत वर्ष चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपतिनाथ बुधबार बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर प्रवेश गरेर दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । घाम लागेसँगै भक्तजनको चाप पनि बढ्न थालेको छ ।

भक्तजनलाई दुई मिटरको दूरीमा लाममा राखी दर्शन गर्ने व्यवस्था मिलाइएको छ । भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने व्यवस्था गरिएको कोषले जनाएको छ । हाललाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गरी दर्शनपछि पनि सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ ।

दर्शनका लागि पशुपतिनाथ मन्दिर खुला गरिए पनि अझै केही समय भक्तजनले रसिद काटेर गरिने विशेष पूजा गर्न पाउने छैनन् । यसैगरी मूल मन्दिर परिसरमा दैनिक हुने गरेको भजनलगायत गतिविधि पनि क्रमशः खुला गरिने कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

नौ महिनापछि भक्तजनका लागि बुधबारदेखि दर्शन गर्न खुला गरिने भएपछि मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले क्षमासहित विशेष पूजा गरेकी थिइन्। कोरोना महामारीबाट मुक्ति, देश एवं विश्व शान्तिको सङ्कल्पसहित मूल मन्दिर, परिसरका देवीदेवताको पनि पूजा आराधना गरिएको थियो ।



लोकप्रिय समाचार
नयाँ