काठमाडौं। सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् सम्वन्धि अध्यादेध बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएपनि अदालत प्रसासनले दर्ता भने गरेको छैन। अधिवक्ता ओमप्रकाश अर्यालले बुधबार सो अध्यादेश बिरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन। उनले विहान अदालत खुले लगत्तै दायर गरेको रिट साढे एक बज्दासम्म पनि दर्ता भइसकेको छैन।
मैले विहानै रिट दायर गरें, तर दर्ता भइसकेको छैन, अदालत प्रसासनबाट अध्ययनकै क्रममा रहेको जानकारी आएको छ, अधिवक्ता अर्यालले हाम्राकुरासँग टेलिफोन संवादमा भने। अदालत प्रसासनले भने राष्ट्रपति र प्रधानमन्त्रीसँग जोडिएको विषय भएकाले अध्ययनमा समय लागेको बताएको छ।
सभामुख अग्निप्रसाद सापकोटा मंगलबार बोलाइएको परिषद् बैठकमा सहभागि नभएपछि परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् बैठक बोलाएर सभामुख र प्रतिपक्षी दलको उपस्थिति बिना नै परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। मन्त्रीपरिषद्को सिफारिसमा आएको अध्यादेशलाई त्यसलगत्तै राष्टपति विद्यादेवी भण्डारीले जारी गरेकी थिइन।