पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीले सरकारले देशका सबै संवैधानिक संस्थाहरु ध्वस्त बनाएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा नेता केसीले देशको लोकतान्त्रिक व्यवस्थाको शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको महत्वपूर्ण पक्ष भए पनि वर्तमान सरकारबाट यसमा खलल पुर्याउने काम भएको आरोप लगाए ।
उनले सरकाले जारी गरेको पछिल्लो अध्यादेश देशका सबै संवैधानिक संस्थाहरु ध्वस्त बनाउने मनसायले ल्याएको भन्दै यसले लोकतन्त्रमाथि चुनौती थपेको बताए । साथै यसलाई कांग्रेसले कहिल्यै पनि स्वीकार नगर्ने उनले स्पष्ट पारे ।
‘संवैधानिक परिषद्को लक्ष्य र उद्देश्यको मूल मर्ममाथि प्रहार गर्ने काम सरकारबाट भएको छ । यसलाई सच्याउन आवश्यक छ’, उनले भने । नेता केसीले नेपाली कांग्रेस पार्टी संविधानमा व्यवस्था भएको मूलभूत आदर्श र सिद्धान्तमा कहिल्यै विचलन नहुने स्पष्ट पारे ।
उनले पार्टीको अबको सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेस सत्तामा जान लागेको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट पारे ।
कांग्रेसलाई जनताले पाँच वर्ष प्रतिपक्षमै बस भनेर पठाएकाले अब सत्तामा जान खोज्नु पार्टीका लागि आत्महत्या सरह हुने बताए । पार्टीको अबको सबै ध्यान सत्ता होइन महाधिवेशन र लोकतान्त्रिक आन्दोलन हुनुपर्ने उनको भनाइ थियो ।
नेता केसीले पार्टीको तत्काल महाधिवेशन गर्न सकिदैन भने तदर्थ समिति बनाएर एक वर्ष भित्र महाधिवेशन गर्ने गरि अघि बढ्न सकिने स्पष्ट पारे । यसो गर्न सके पार्टीका गतिविधिसंगै देशमा लोकतान्त्रिक आन्दोलन गर्न सकिने उनको धारणा थियो ।
प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदीप पौडेलले बोलेका थिए ।