काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ ।
गत वैशाखमा पनि परिषद्सम्बन्धी जारी भएको अध्यादेशलाई शान्ति समाजले त्यसको विरोधमा एकजुट हुन सबैलाई आह्वान गरेको थियो । आठ महिनापछि फेरि लोकतान्त्रिक मूल्यविपरीत संविधानको आत्मालाई डामेर जारी भएको अध्यादेशको शान्ति समाजले विरोध गरेको सभापति उत्तम पुडासैनीले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
“सरकारको चरित्र हेर्दा लोकतान्त्रिक संवैधानिक संरचना निस्तेज एवं ध्वस्त पारी रिक्तता सिर्जना गर्न खोजिएको प्रतीत हुन्छ, तसर्थ बेलैमा उपचार खोज्न सम्बन्धित सबै लोकतान्त्रिक निकायलाई शान्ति समाज आग्रह गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।