काठमाडौं । स्पेनिश लिग ला लिगामा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा रियाल सोसिडाडलाई पराजित गर्दै बार्सिलोना पाँचौं स्थानमा पुगेको छ ।
यो सिजन कमजोर सुरुआत गरेको बार्सिलोनाले नाउ क्याम्पमा भएको खेलमा सोसिडाडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलमा अग्रता पाहुना टोली सोसिडाडले २७ औं मिनेटमा डी सिल्भाको गोलमा लिएको थियो । त्यसको चार मिनेटपछि जोर्डी अल्बाले बार्सिलोनाका लागि बराबरी गोल फर्काए ।
४३ औं मिनेटमा डी जोङले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाएका थिए । दोस्रो हाफमा थप गोल हुन नसकेपछि खेल बार्सिलोनाले जितेको हो ।
यो खेलमा बार्सिलोना स्टार लियोनल मेस्सीले गोल गरेनन् । उनको गोल बिना नै टिमले जित्यो ।
अंक तालिका
बार्सिलोनाले सोसिडाड सहितका शीर्ष क्लबहरु एट्लेटिको मड्रिड, रियाल मड्रिडसंग समेत अंक दुरी घटाएको छ ।
शीर्ष तीन क्लबहरु एथलेटिको, सोसिडाड र रियालको २६ अंक छ । चौथो स्थानको भिल्लारियलको २२ अंक छ ।
पाँचौ स्थानको बार्सिलोनाले २० अंक जोडेको छ ।