काठमाडौं । सन् २०३० मा हुने २१ औं एसियन गेम्सको आयोजना कतारले गर्ने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाको ओमानको मस्कटमा बुधबार भएको ३९ औं साधारण सभाले मतदान मार्फत सन् २०३० को एसियन गेम्सको आयोजना कतारलाई दिने निर्णय गरेको हो ।
त्यसको चार वर्ष पछि हुने २२ औं एसियन गेम्सको आयोजना भने साउदी अरेबियाले गर्नेछ ।
सन् २०३० को एसियन गेम्सको आयोजनाका लागि कतार र साउदीले दाबी गरेकामा कतारले बाजी मारेको हो ।
उक्त गेम्स कतारको दोहामा हुनेछ । मतदानमा कतारले बाजी मार्दा साउदी हार्यो । तर साउदीले पनि तयारी तीव्र पारेकाले उसले चार वर्षपछि आयोजना गर्ने अवसर पाएको छ ।
दुवै देशबीच लामो समयदेखि विवाद थियो । यो विवादले राजनीतिक रुप लिँदा मतदान गर्ने सबै राष्ट्रसँग उनीहरुले निकटता बनाएका थिए ।
दुवै देशले मतदानमार्फत अघि बढ्ने निर्णय लिएसँगै मतदानमार्फत कतारले बाजी मारेको हो ।
दुवै देशका टिमले नेपालसँग पनि मत मागेका थिए । कतारको टिम नेपालमै आएको थियो भने साउदीको टिमले नेपाल ओलम्पिक कमिटीसँग भर्चुअल संवाद गरेको थियो । पछि साउदीका राजदूत ओलम्पिक भवन सातदोबाटो पुगेर मत मागेका थिए ।