काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको महामारीको मुहान चीनको वुहान पुगेर अनुसन्धान गर्ने भएको छ ।
डब्ल्यूएचओले चीनको वुहानबाट गत वर्षको डिसेम्बरबाट फैलिन शुरु गरेको कोरोनाको अवस्थाबारे बुझ्न १० जना अन्तर्राष्ट्रिय वैज्ञानिकहरुलाई खटाउने भएको हो ।
तर चीनले भने डब्ल्यूएचओलाई अझै पनि स्वतन्त्र रुपले कोरोनाका बारेमा अध्ययन अनुसन्धान गर्न स्वीकृति नदिएको बीबीसीले लेखेको छ । लामो समयउक्त टिमलाई अनुसन्धान गर्न भने दिइने भएको छ । त्यो अनुसन्धानमा चीनले कतिसम्म स्वतन्त्रता दिन्छ भन्नेमा आशंका छ ।
जनावरहरुको अत्यधिक व्यापार र खपत हुने वुहान शहरबाटै जनावरहरुको काँचो मासुबाट कोरोना भाइरस सरेको दावी गरिएको छ ।
चीनले यसलाई अश्वीकार गर्दै आएको छ ।
गत डिसेम्बरमा वुहान सेन्ट्रल अस्पतालमा एक चिनियाँ चिकित्सक ली वेनलिङले नयाँ रोगको सम्भावित प्रकोपका बारेमा अनुसन्धान थालेको बताएलगत्तै चीन सरकारले उनलाई हिरासतमा लिएको थियो । त्यसपछि उनको त्यही रोग लागेर मृत्यु भएको बताइएको थियो ।
उक्त रोगबारे समयमै जानकारी नदिएको आरोप अमेरिकाले लगाएको थियो ।
के हो अनुसन्धानको उद्धेश्य ?
वुहान भ्रमण गर्ने एक टोलीका वैज्ञानिकले डब्ल्यूएचओले कुनै दोष लगाउन नभई भविष्यमा हुन सक्ने थप प्रकोपबाट बच्नका लागि अनुसन्धान गर्न खोजिएको बताए । जर्मनीका रोबर्ट कोच इन्स्टिच्यूटका फ्याबियन लेन्डरत्जले एपीलाई भनेका छन्, ‘यो वास्तवमा कुनै दोषी देश खोज्ने कुरा होइन ।’
उनले भने, ‘यो के भयो भनेर बुझ्न कोसिस हुँदैछ र तथ्यांकको आधारमा हामीले भविष्यमा जोखिम कम गर्न प्रयास गर्न सकिने छ ।’