काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ‘अब अति भो गाईजात्रा बन्द गर्नुहोस्’ भनेका छन् ।
सामाजिक संजाल ट्वीटरमा बिहीबार बिहान ट्वीट गर्दै पूर्व उपप्रधानमन्त्री थापाले दुवै नेतालाई ट्याग गर्दै लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउन पनि आग्रह गरेका छन् ।
उनले लेखेका छन्, ‘हामी जस्ता राजसंस्था सहितको लोकतन्त्र पक्षधरलाई समेत लाज लाग्ने गरी गणतन्त्रको धज्जी नउडाउनु होस् ।’
नेता थापाले ‘हिजो हिमालय पर्वत जस्तो भिमकाय तपाईंहरूको व्यक्तित्व खिया परेर अहिले धुलिसात भैसक्यो । कमसेकम लोकलज्जाको त ख्याल राख्नोस्’ भनी लेखेका छन् ।
गत मंगलबार ओलीले सनकको भरमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएर बहुमतका आधारमा निर्णय गर्न खोजेका थिए भने बुधबार प्रचण्डले विशेष अधिवेशनको माग गर्दै ओलीलाई हटाउन खोजेका थिए ।
तर दुबैबीच बुधबार दिउँसो आपसी सहमति भएको थियो । एउटाले अध्यादेश फिर्ता लिने र अर्कोले विशेष अधिवेशनको माग फिर्ता लिने सहमति गरेसँगै नेकपाको स्थायी कमिटी बैठक सम्भव भएको थियो ।
तर नेपाली राजनीतिमाथि खेलबाड गर्ने दुवै नेताको प्रवृत्तिप्रति चर्को विरोध भइरहेको छ ।