काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहीबार यो वर्षकै सबैभन्दा चिसो भएको छ । केही दिनदेखि बढेको चिसो अझै बढ्ने महाशाखाले बताएको छ । बिहीबार बिहान उपत्यकाको न्यूनतम तापक्रम २.३ डिग्री सेल्सियस रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।
घाम लागिरहे पनि त्यसले खासै प्रभाव पारेको छैन । बासीले अझै चिसो बढ्ने बताइन् । दैनिक चिसोले रेकर्ड राखेको छ । यसअघि बुधबार बिहान तापक्रम घटेर २।८ डिग्री सेल्सियस रहेको थियो । मंगलबार ३ डिग्रीमा झरेको थियो । त्यो त्यतिन्जेलको यो वर्षको सबैभन्दा कम तापक्रम थियो ।
बासीले बिहीबार सबैभन्दा कम जुम्लामै रहेको बताएकी छिन् । अन्य क्षेत्रको तथ्थांक आउँदै गरेको उनले बताइन् ।
उनले पश्चिमी तराईमा हुस्सु कुहिरो लागेको बताइन् । यो मध्यान्ह १२ बजेसम्म हट्ने पनि उनले बताइन् ।
हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु–कुहिरो लागिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले दिनहुँ तापक्रमको गिरावटका कारण चिसो बढ्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन सबैमा अनुरोध गरेको छ। साथै तराईका अधिकांश भूभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध समेत महाशााखाले गरेको छ ।