काठमाडौं। संवैधानिक परिषद् सम्वन्धि अध्यादेश आएपछि राजनीतिक तरंग बढिरहेका बेला परिषद् अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरी परिषद् बैठक बोलाएका छन् । आज साँझ ५ बजे बस्ने गरी बोलाइएको बैठकमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवालाई पनि बोलाइएको छ । तर देउवा बैठकमा सहभागी नहुने उनको सचिवालयले जानकारी दिएको छ ।
यता संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटालाई भने बैठकमा बोलाइएको छैन । सभामुखको सचिवालयका अनुसार सापकोटालाई बैठकमा उपस्थितिका लागि अहिलेसम्म बोलाइएको छैन । ‘अहिलेसम्म बैठकबारे खबर छैन, अहिलेलाई यति भनौं,’ सचिवालय स्रोतले हाम्राकुरासँग भन्यो । हिजो बसेको नेकपा स्थायी कमिटी बैठकले भने अध्यादेश फिर्ताको निर्णय गरिसकेको छ । तर सरकारले भने फिर्ता लिएको छैन ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, विपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ । हाल संसदमा उपसभामुख भने रिक्त छ।