काठमाडौं । रुसी फुटबल टिमले अझै दुई वर्ष विश्वका मुख्य खेल प्रतियोगिता गुमाउने भएको छ । डोपिङ काण्डमा मुछिएको रुसमाथि लागेको चार वर्षको प्रतिवन्ध घटाएर दुई वर्षमा झारिएको विश्व खेलकुदको सर्वोच्च न्यायिक संस्था कासले बताएको छ ।
विश्वको एन्टी डोपिङ एजेन्सीले प्रारम्भिक रुपमा रुसलाई चार वर्षको प्रतिबन्धको प्रस्ताव गरे पनि कासको पछिल्लो निर्णयले प्रतिवन्धलाई दुई वर्षमा झारिएको हो । कासको निर्णयसंगै रुसमाथिको प्रतिबन्ध सन् २०२२ को डिसेम्बर १६ सम्म लाग्नेछ ।
कासको यो निर्णय अनुसार रुसले दुई वर्षको अवधिमा हुने कुनै पनि प्रतियोगितामा सहभागीता जनाउन पाउने छैन । प्रतिवन्ध अनुसार रुसले जापानको टोकियोमा अर्को वर्ष हुने ओलम्पिक र सन् २०२२ मा कतारको दोहामा हुने विश्वकप फुटबल गुमाउनेछ ।
डोपिङमा नपरेका खेलाडीले भने तटस्थ झण्डामा ओलम्पिकमा सहभागीता जनाउन पाउने छन् । यसअघि सन् २०१८ को विन्टर ओलम्पिकमा झण्डै १४ दर्जन खेलाडीले तटस्थ झण्डामुनि खेलेका थिए ।