काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड छैटौं स्थानमा पुग्न सफल भएको छ । बुधबार राति भएको खेलमा शेफिल्ड युनाइटेडमाथि ३–२ गोल अन्तरको संघर्षपूर्ण जितपछि म्यान्चेस्टर छैटौं स्थानमा पुगेको हो ।
म्यान्चेस्टरलाई जिताउन मार्कस रास्फोर्डले २ तथा एन्थोनी मार्सियलले १ गोल गरे । खेलमा ५ मिनेटमै डेभिड म्याक गोल्डरिकले गोल गर्दै शेफिल्डले घरेलु मैदानमा प्रारम्भिक अग्रता लिएको थियो ।
२६ औं मिनेटमा रास्फोर्डले गोल गर्दै बराबरी गरे । ३३ औं मिनेटमा मार्सियलले गोल गर्दै अग्रता बनाए ।
५१ औं मिनेटमा रास्फोर्डले व्यक्तिगत दोस्रो गोल गर्दै म्यान्चेस्टरलाई ३–१ को स्थितिमा ल्याए । ८७ मिनेटमा म्याक गोल्डरिकले दोस्रो गोल गर्दै अन्तर कम गरे । तर त्यसपछि कुनै गोल नहुँदा म्यान्चेस्टरले महत्वपूर्ण ३ अंक बटुल्यो ।
पुछारको शेफिल्डविरुद्ध संघर्षपूर्ण जित निकालेपछि म्यान्चेस्टर १२ खेलबाट २३ अंकसहित छैटौं स्थानमा पुगेको छ । एभर्टनको समेत २३ अंक भए पनि गोल अन्तरमा म्यान्चेस्टर पछाडि परेको हो ।
शेफिल्डको १३ खेलमा १ खंक मात्रै छ । बिहीबार रातिको अर्को खेलमा एस्टन भिल्ला र बर्नलीले गोलरहित बराबरी खेले ।