काठमाडौं । काठमाडौं उपत्यकामा यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको छ । शुक्रबार बिहान काठमाडौं उपत्यकाको तापक्रम १.६ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले तापक्रम १.६ डिग्री सेल्सियस रहेको बताइन् ।
उनले काठमाडौं उपत्यकामा अझै तापक्रम घट्दै जाने बताइन् । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।
महाशाखाका अनुसार हाल नेपालको पश्चिमी तराइ भूभागका अधिकांश स्थानहरुमा बिहानीपख बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु–कुहिरो लागिरहेको छ ।
दिउँसो प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
शुक्रबार देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने देखिएको महाशाखाले जनाएको छ । महाशाखाले देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन सबैमा अनुरोध गरेको छ । साथै तराईका अधिकांश भूभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
यस्तो छ अन्य स्थानको न्यूनतम तापक्रम
शुक्रबार जुम्लामा माइनस ७, दिपालयलमा ०.७, वीरेन्द्रनगरमा १.८, डडेलधुरामा ३.९, ताप्लेजुङमा २.८ डिग्री सेल्सियस रहेको छ ।