डोटी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री वीरबहादुर बलायरले हलियाको नाममा आएको रकम खोजी गर्नु पर्ने बताएका छन् । बिहीबार शिखर नगरपालिका डोटीका वडा स्तरिय कार्यकर्ता भेटघाट कार्यक्रममा बलायरले हलियाको रकम खोज्नुपर्ने बताएका हुन् ।
‘जिल्लाका अधिकांश ठाउँमा हलियाका नाममा कति रकम आएको र किनिएको भनिएको जमीन हलियालाई थाहा छैन’, केन्द्रीय सदस्य बलायरले भने, ‘अझै भनौँ हलियाका लागि किनिएको जमीन र बनेको घर बजेट निकासा गर्नका लागि मात्र बनेका छन् । बनेका भनिएका घरमा हलिया बसेका छैनन् । हलियाका नाममा आएको रकम कार्यान्वयन गराउने निकाय समेत चुकेको छ ।’
उनले हलियाका नाममा आएको रकमको उपयोगिता कति भएको छ भन्ने फिल्डमै गएर अनुगमन गर्नु पर्नेमा जोड दिएका छन् । सम्वन्धित निकायबाट आएको रकम हलियाको हातमा थोरै र बीचमा टाठाबाठाले बढी खाएको बताउदै केन्द्रीय सदस्य बलायरले भने, ‘हलियाको नाममा आएको रकम कुम्ल्याउनेलाई सम्वन्धित निकायले छानविन गरी कार्वाही गर्नु पर्दछ ।’