arrow

ओलीको आलटालपछि प्रचण्ड–नेपाल समूह शक्ति प्रदर्शनतिर

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
kp-prachanda-madhav.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता गर्न आलटाल गरेको र पार्टीभित्रको विवाद समाधान गर्न कुनै पहल नगरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले प्रदेश १ को भेला आयोजना गर्न जिल्ला अध्यक्ष र सचिवलाई काठमाडौं बोलाएको छ । 

प्रचण्ड निकट स्रोतका अनुसार शुक्रबारमै उनीहरु काठमाडौं आउँदैछन् । ओली पक्षका युवा विद्यार्थीहरुको भेला सातै प्रदेशमा हुन गइरहेको अवस्थामा प्रचण्ड–नेपाल पक्षले पनि प्रदेश १ का अध्यक्ष–सचिवलाई काठमाडौं बोलाएको हो । ‘हामीले आफू निकट वा अन्य भनेर छुट्याएका छैनौं सबैलाई बोलाएका छौं को को आउनुहुन्छ हेरौं’, प्रचण्ड निकट एक सदस्यले भने ।

प्रचण्ड–नेपाल पक्षले बागमती प्रदेशको भेला सकिसकेको छ । बागमती प्रदेशबाट अष्टलक्ष्मी शाक्य, नारायण दाहाल, पम्फा भुषाल लगायतका नेताहरु उपस्थित थिए । आनन्द पोखरेल लगायतका ओली पक्षका नेताहरु उपस्थित थिएनन् । 

झापाको दमक, सुनसरी लगायतका जिल्लाहरुको पनि प्रचण्ड–नेपाल पक्षले आफ्ना कार्यकर्ताहरुको भेला गरिसकेको छ । प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् । 

प्रचण्ड–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका हुन् । उनीहरूले ससाना समूहमा भेला गर्न थालेका हुन् । कात्तिक २८ गते प्रचण्डले सचिवालय बैठकमा राखेको प्रतिवेदन तल्लो तहसम्म पठाइएपछि ओली समूह पनि तल्लो तहसम्मकै कार्यकर्तासँग छलफलमा जुटेको छ । 

‘ओली पक्षका नेता–कार्यकर्ताले देशव्यापी रूपमै भेला गरिरहेका छन् । उता प्रचण्ड–नेपाल समूहले पनि आफ्ना समूहका नेताहरूलाई तल्लो तहसम्ममा उपस्थिति कस्तो छ भनेर बुझिरहेका छन् । समग्रमा भन्ने हो भने दुवै पक्षका नेताहरू आफ्नो शक्ति कति रहेको छ भनेर परीक्षण गरिरहेका छन् ’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार नेताहरूले यसरी बैठक गरेर कार्यकर्ताबीच पनि चिरा पारेकाले पार्टी सग्लो देखिए पनि अनौपचारिक रूपमा विभाजन भइसकेको छ ।



लोकप्रिय समाचार
नयाँ