सामाजिक अभियन्ता जोशीद्वारा बाबुको सम्झनामा साढे पाँच लाखको अक्षयकोष स्थापना
प्रकाश बम,
प्रकाशित २०७७ पुष ३ शुक्रबार
101
Shares
डोटी । सामाजिक अभियन्ता भक्तराज जोशीले स्वर्गीय बुबा खड्गप्रसाद जोशीको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् । जिल्लाको पुर्विचौकी गाउँपालिका २ बगलेकको कुडासैनमा रहेको नेत्रेश्वरि माध्यमिक विद्यालयमा पाँच लाख पचास हजारको अक्षयकोष एक भब्य कार्यक्रमका बीच स्थापना गरेका हुन् ।
‘गाउँमा विद्यालय खोलेर शिक्षाको ज्योती फिँजाउनु पर्छ भन्ने बुबाको अवधारणालाई जिवन्त राख्न उक्त कोष स्थापना गर्ने निर्णय गरेको हुँ’, जोशीले भने, ‘अहिले आर्थिक रुपमा कमजोर भएकै कारणले पढ्न नपाउने अवस्थाको अन्त्य गर्न मैले उहाँकै सम्झनामा अक्षयकोष स्थापना गरेको हुँ ।’
उक्त कोषले यस भेगका विपन्न र जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्ने अपेक्षा गरेको जोशीले बताए । अक्षयकोष स्थापनाले यस विद्यालयका जेहेन्दार तथा गरिब बिपन्न विद्यार्थीको पढाइमा ठूलो सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक अमरबहादुर खड्काले बताए। उनले भने, ‘कोषबाट आउने रकमको सही सदुपयोग गर्नेछौं । सामाजिक कार्यमा सहयोग गरेकोमा जोशीलाई विद्यालय परिवारको तर्फबाट धन्यवाद ।’
यसअघि जोशीले सोही गाउँपालिकास्थित दुर्गा माध्यमिक विद्यालयमा स्व खड्गप्रसाद जोशीको स्मृतिमा १० लाखको अक्षयकोष स्थापना गरेका थिए ।