काठमाडौं । ९० प्रतिशत सफल देखिएको अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले कोरोना भाइरविरुद्ध बनाएको खोप अहिले विश्वका धेरै देशमा प्रयोग गर्न थालिएको छ । एमआरएनए प्रविधिबाट बनेको यो खोपको प्रयोगपछि एलर्जीको समस्या हुने गरेको छ ।
केहीदिनअघि फाइजरको खोप लगाएका दुई बेलायती स्वास्थ्यकर्मीलाई अचानक गम्भीर किसिमको एलर्जी भएको थियो । दुई जनालाई एलर्जी भएको समाचार विश्वभर फैलिएपछि अहिले खोप लगाएपछि एलर्जी पो हुने हो कि ? भन्ने आशंका धेरैम बढेको छ ।
सेकेण्ड वा मिनेटमै हुनसक्ने गम्भीर किसिमको एलर्जीका समस्या एनाफिलाक्सिस भएमा तुरुन्त उपचार नपाए मान्छेको ज्यान समेन जान सक्छ । एनाफिलाक्सिस हुँदा अचानक रक्तचाप कमहुने र श्वासफेर्न नसक्ने समस्या हुन्छ ।
बेलायतमा दुई स्वास्थ्यकर्मीलाई यस्तै समस्यादेखिएको थियो । यद्यपी उपचारपछि उनीहरु दुवैजना निको भएर घर फर्किसकेका छन् ।
यस घटनालाई स्पष्ट पार्दै फिलापिल्डयाका खोप विज्ञ डाक्टर पल अफिटले खोपले एलर्जी नगराउने तर पहिलेदेखि नै एलर्जीको समस्या भएकाहरुको हकमा भने एनाफिलाक्सिस समेत हुनसक्ने बताएका छन् । बेलायतमा एलर्जी भएका दुई जनालाई खोप लगाउनु अघि नै एनाफिलाक्सिस भएको खुल्न आएको छ ।
यसकारण एनाफिलाक्सिस भएका एलर्जीको समस्या भएकाहरुले खोप लगाउनु अघि डाक्टरसँग परामर्श गरेर लगाउन सक्ने अधिकारीहरुले बताएका छन् । एनाफिलाक्सिस भएकाहरुलाई पनि उपचारपछि निको बनाएर घर पठाउन सकिने भएपछि फाइजरले यो विषयमा चिन्ता नहुने बताएको छ ।
अमेरिकी खाद्य एवं प्रविधि विभागले एनाफिलाक्सिसको समस्या पहिले नै भएकाहरुलाई खोप लगाएपछि एनाफिलाक्सिस हुन्छ या हुँदैन र कति गम्भीर हुन्छ भन्ने विषयमा अध्ययन गर्नुपर्ने खोप विज्ञ डाक्टर पलको भनाइ छ ।
यसबाहेक बुधबार अमेरिकाको अलस्कामा पनि एक स्वास्थ्यकर्मीलाई खोप लगाएपछि एनाफिलाक्सिस भएको छ । यद्यपी, ती स्वास्थ्यकर्मीमा भने यसअघि गम्भीर एलर्जीसम्बन्धी समस्या एनाफिलाक्सिस नभएको उनको उपचारमा खटिएका डाक्टर लिण्डी जोनसले बताएका छन् ।
अहिले यी स्वास्थ्यकर्मीको पनि उपचारपछि स्वास्थ्य अवस्था ठिक भइसकेको छ । फाइजरले भने यस्ता समस्याको लागि सजिलै उपचारको व्यवस्था हुनुपर्ने बताउँदै आएको छ । उसले यस्ता घटनाहरुमाथि थप अध्ययन गर्दै सुधार गर्दै जाने बताएको छ ।
अमेरिकी खाद्य व्यवस्था विभागले खोप लगाएका ०.६३ प्रतिशतमा सम्भावित एलर्जीको समस्या देखिएको रिपोर्ट सार्वजनिक गरेको थियो । त्यस्तै फाइजरले परीक्षण गरेको १८ हजार ८ सय १ जनामध्ये १ जनालाई एनाफिलाक्सिसको समस्या देखिएको थियो ।
यसकारण अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपले एलर्जीको समस्या धेरैमा देखिएको छैन् । यद्यपी उपचारपछि एनाफिलाक्सिस पनि निको भएको छ । पहिलेदेखि नै एलर्जी भएकाहरुले खोप लगाउदा भने डाक्टरको सल्लाह बमोजिम लगाउनु पर्ने देखिन्छ ।एजेन्सी