arrow

माता जानकी र भगवान रामका बुबाले गरे 'सम्धी मिलान' !

विवाह पञ्चमी महोत्सवको चौथो दिन तिल्कोत्सव कार्यक्रम सम्पन्न ,शुक्रबार मटकोर 

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष ३ शुक्रबार
samdi-milan.jpg

धनुषा । मिथिलाञ्चलमा प्रत्येक वर्ष भब्यताका साथ मनाइने विवाह पञ्चमी महोत्सवको चौथो दिन बिहीबार तिल्कोत्सव कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक वर्ष जस्तै राम मन्दिरको प्राङ्गणमा भएको सो कार्यक्रममा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास बैष्णव (वेहुली पक्ष) र राम मन्दिरका महन्थ राम गिरी (वेहुला पक्ष) विच 'सम्धी मिलान' भएको छ।

यो पाली कोरोना महामारीबीच भइरहेको विवाहपञ्चमीमा यसपटक श्रद्धालुभक्तजनहरुको संख्यामा कमी आएको हो। लाखौँको संख्यामा नेपाल र भारतबाट साधुशन्त लगायत श्रद्धालुभक्तजनहरु आउथे तर यसपटक सीमा बन्दको कारण आउन सकेनन् ।

जानकी मन्दिरबाट भारतको विभिन्न स्थानमा महन्थहरुलाई पठाइने गरेको पत्र पनि यसवर्ष नपठाएकोले संख्यामा कमी आएको जानकी मन्दिरका सह महन्थ राम रोशन दास वैष्णवले बताए । अन्य वर्ष विवाहपञ्चमीको चौथो दिनसम्म जनकपुरधाम भरिभराउ भएपनि यस वर्ष अहिलेसम्म जानकी मन्दिर सुनसान रहेको महन्त दासले बताए ।

विवाहपञ्चमी भन्दा दुई दिन पूर्व हुने तिलकोत्सव साताव्यापी विवाहपञ्चमीको मुख्य आकर्षण हुने गरेको छ । सो अवसरमा राममन्दिर प्रांगणमा शुक्रवार बेलुका श्रद्धालुभक्तजनहरुको व्यापक भिड लागेर भारतीय तथा नेपालका गरी हजारौ भक्तजनहरुको अगाडि समधी मिलानमा जानकी मन्दिरका महन्थ जानकीको बुबा र राम मन्दिरका महन्थ भगवान रामको बुबाको रुपमा सहभागी भएका छन् ।

तिलकोत्सव हुनु भन्दा पूर्व जानकी मन्दिरवाट एक सय एक वटा पाहुर ( भिष्ठार सहितको भार) राम मन्दिरमा पठाइएको छ । पाहुरलाई लिएर जानकी मन्दिरका सहायक महन्थ रामरोशन दास वैष्णव स्वयंम राम मन्दिर पुगेका थिए ।

गत सोमवारबाट सुरु भएको सप्ताह व्यापी कार्यक्रममा पहिलो दिन नगरदर्शन कार्यक्रममा जनकपुरधाम आएका भगवान श्री रामलाई नगरदर्शन गराइएको थियो भने दोस्रो दिन फुलवारी लिला अन्तर्गत रामजानकीको भेट फुलवारीमा गराइन्छ । तेस्रो दिन धनुष यज्ञमा भगवान श्री रामले धनुष भाचेका थिए भने तिल्कोत्सवमा वेहुला र वेहुली पक्षको अभिभावक बिच 'सम्धी मिलान' गर्ने परम्परा छ । शुक्रबार मटकोर विधि र शनिवार स्वयंवर तथा वैवाहिक कार्यक्रम हुनेछ भने आइतवार रामकलेवा हुदै महोत्सवको समापन हुनेछन ।

साथै सो अवसरमा प्रदेश सरकारका मन्त्री, प्रदेश सांसद, जनकपुरधाम उपमहानगरपालिकाका मेयर , उप मेयर, धनुषाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सहित प्रशासनिक निकायका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
नयाँ