arrow

सिडेनको अध्यक्षमा थापा र थानीको प्रतिस्पर्धा

logo
प्रकाशित २०७७ पुष ३ शुक्रबार
cden.png

काठमाडौँ । लोकतन्त्रवादी इञ्जिनीयरहरुको साझा संस्था (सिडेन) को  निर्वाचनमा अध्यक्ष पदमा ध्रुव थापा र उमेशप्रसाद थानी आ–आफ्नो प्यानलसहित निर्वाचनमा होमिएका छन् । सिडेनको छैटौँ कार्यकारिणी समितिको शनिबार हुने निर्वाचनमा दुवै पक्षले आ–आफ्नो प्यानलसहित विजय हुने दाबीसमेत गरेका छन् । 

कार्यकारिणी समितिका लागि अध्यक्षसहित पाँच पदाधिकारी र १३ सदस्यका लागि निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत देवराज निरौलाले जानकारी दिए । कार्यकारिणी समितिमा समेत प्रतिनिधित्व गर्ने सात प्रदेशका प्रमुखको भने यसअघि नै निर्वाचन भइसकेको छ । शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने निर्वाचनमा काठमाडौँमा तीन हजार ९६ र सात प्रदेशका विभिन्न स्थानमा ५२७ गरी देशभरका तीन हजार ६२३ प्रतिनिधिले मतदान गर्ने उनले बताए ।  

अध्यक्ष पदका प्रत्यासी थानीले आफू करियरको शुरुआतदेखि नै लोकतन्त्रप्रति समर्पित र सक्रिय रहंँदै आएको उल्लेख गर्दै युवा नेतृत्वका साथ निर्वाचनमा होमिएको बताए । 

साथै उनले आफूले इञ्जिनीयरिङ शिक्षाको गुणस्तर वृद्धि, सिडेनमा आवश्यक सुधार तथा सङ्गठनात्मक सुदृढीकरण गर्ने, संस्थागत सुशासन तथा पारदर्शीता कायम गर्ने इञ्जिनीयरहरुको हकहितका लागि हरसम्भव प्रयत्न गर्ने, नयाँ प्रविधिको आविष्कार र अनुसन्धानलाई प्रोत्साहन गर्नेलगायतका मुद्दा अघि सारेको जानकारी गराए ।   

यसैगरी अध्यक्ष पदका अर्का प्रत्यासी थापाले समस्त इञ्जिनीयरको हकहित तथा पेशागत विकासका लागि काम गर्ने चाहनाअनुरुप सबै कोणबाट समावेशी र सन्तुलित समूहका साथ निर्वाचनमा होमिएको बताए । उनले  युवा इञ्जिनीयरको व्यवस्थापन (तालीम, रोजगारी, जागीर बैंकको स्थापना आदि), सिडेनको संस्थागत  विकास, इञ्जिनीयरिङ स्रोत केन्द्रको स्थापना नेपाल इञ्जिनीयरिङ एसोसिएसनको आगामीे चुनावमा लोकतान्त्रिक समूहको जितलगायतका मुद्दा अघि सारेका छन्। 



लोकप्रिय समाचार
नयाँ