काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता गर्न आलटाल गरेर आफ्ना बिरोधीहरुलाई थाङनामा सुताउन प्रयास जारी राखेका छन्। अध्यादेश फिर्ता समेत नलिई पार्टीभित्रको विवाद समाधान गर्न कुनै पहल नगरेको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्ष अहिले ओली बिरुद्ध आक्रामक रवैया अपनाउन मुडमा देखिएको छ ।
यसैबीच प्रदेश १को भेला आयोजना गर्न जिल्ला अध्यक्ष र सचिवलाई प्रचण्ड नेपाल समुहले काठमाडौं बोलाएको छ । दाहाल निकट स्रोतका अनुसार आजै उनीहरु काठमाडौ आउँदैछन् । ओली पक्षका युवा विद्याथीहरुको भेला सातै प्रदेशमा हुन गइरहेको अवस्था दाहाल नेपाल पक्षले पनि प्रदेश १ को अध्यक्ष सचिवलाई काठमाडौ बोलाएको हो । ‘हामीले आफू निकट वा अन्य भनेर छुट्याएका छैनौ सबैलाई बोलाएका छौं को को आउनुहुन्छ हेरौ’, दाहाल निकट एक सदस्यले भने ।
दाहाल नेपाल पक्षले बाग्मती प्रदेशको भेला सकिसकेको छ । बाग्मती प्रदेशबाट अष्टलक्ष्मी शाक्य, नारायण दाहाल उपस्थित थिए । आनन्द पोखरेल लगायका ओली पक्षका नेताहरु उपस्थित थिएनन । झापाको दमक, सुनसरी लगायतका जिल्लाहरुको पनि दाहाल नेपाल पक्षले आफ्ना कार्यकर्ताहरुको भेला गरिसकेको छ । प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् भने दाहाल–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका हुन् । उनीहरूले ससाना समूहमा भेला गर्न थालेका हुन ।
कात्तिक २८ गते दाहालले सचिवालय बैठकमा राखेको प्रतिवेदन तल्लो तहसम्म पठाइएपछि ओली समूह पनि तल्लो तहसम्मकै कार्यकर्तासँग छलफलमा जुटेको छ । ‘ओली पक्षका नेता–कार्यकर्ताले देशव्यापी रूपमै भेला गरिरहेका छन् । उता दाहाल–नेपाल समूहले पनि आफ्ना समूहका नेताहरूलाई तल्लो तहसम्ममा उपस्थिति कस्तो छ भनेर बुझिरहेका छन् । समग्रमा भन्ने हो भने दुवै पक्षका नेताहरू आफ्नो शक्ति कति रहेको छ भनेर परीक्षण गरिरहेका छन् ’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने । उनका अनुसार नेताहरूले यसरी बैठक गरेर कार्यकर्ताबीच पनि चिरा पारेकाले पार्टी सग्लो देखिए पनि अनौपचारिक रूपमा विभाजन भइसकेको छ ।