arrow

बुढानीलकण्ठको अवैध उत्खनन गर्नेहरुलाई बालुवाटारको संरक्षण, समाचार लेख्नेलाई मार्ने धम्की

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष ४ शनिबार
rajan-bhattarai-nuchenaraya.jpg

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकामा संगठित रुपमा भइरहेका अवैध बालुवा उत्खनन, ढिस्का तथा डाँडो मास्ने, खोला मिचेर नदीजन्य सामग्री निकाल्ने विषयमा समाचार लेख्ने पत्रकारलाई दिइएको धम्कीको विषयले नयाँ मोड लिएको छ । 

अवैध बालुवा उत्खनन् गर्ने, ढिस्का तथा डाँडो मास्ने जस्तो प्राकृतिक दोहन हुने काम रोक्न स्थानीय अगुवाहरुको पहल राजनीतिक संरक्षणका कारण निरर्थक बनेको छ । यस बिषयमा कलम चलाएर खबरदारी गर्ने पत्रकारलाई धम्की दिनेमाथि प्रहरीले कुनै कारबाहीसमेत अगाडि बढाएको छैन ।

अवैध रुपमा प्रकृति, वनजङ्गल तथा खोलानालालाई मास्ने काम रोक्न प्रदेश सांसद न्हूँच्छे श्रेष्ठलगायतका अगुवाहरुले गरेको पहल सत्तारुढ दल नेकपाकै शीर्ष नेताहरुको संरक्षणका कारण सफल हुन सकेको छैन । ‘विधि विधान अनुसार प्राकृतिक दोहन रोक्न नगर  दोहन रोक्न सक्नुभएको छैन,’ सांसद श्रेष्ठले भने, ‘दोहन रोकेको भनी प्रचारबाजी गरिएको छ तर मिनी ट्रक छिर्ने सडकमा रातारात टिप्परमार्फत बालुवा ओसारपसार भइरहेको छ ।’

चुनीखेल र कौडोलमा प्लटिङका नाममा डाँडा मास्ने, खोला मास्ने तथा बालुवा बेच्ने काममा सक्रिय भू–माफियाहरुसँग मेयर उद्धव खरेल, उपमेयर रमा राईलगायत प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईसम्मको मिलेमतो रहेको स्थानीय सामाजिक अगुवाहरुको भनाइ छ । 

उच्च तहसम्मको सेटिङ लगायतका बिषयमा कलम चलाएका कारण काठमाण्डुखबरडटकमका प्रधान सम्पादक केशवराज पाठकमाथि मार्ने धम्की दिनेहरुको खोजबिन गरी कारवाहीको दायरामा ल्याउन आनाकानी गरिएको स्रोतको दाबी छ । 

पुस १ गते बिहान बुढानीलकण्ठ नगरपालिका वडा नं १३ स्थित कौडोलमा रहेको एक प्लटिङ नजिक वनमा दुई जना मुखुण्डो लगाएका मानिसले ‘यो प्लटिङ हाम्रो हो, तैँले ज्यान फाल्न निहुँ खोजिस्, अब के के हुन्छ हेर्दै जा’ भनेर पाठकलाई धम्की दिएका थिए ।

कालो रंगको २८२९ नम्बरको मोटरसाइकलमा बाटो ढुकेर बसेका दुई जना हरियो रंगको नकाब लगाएका व्यक्तिहरुले धम्की दिएका थिए । उनलाई मार्ने धम्की दिंदै दुई जना नै तारेभीरतिर लागेका थिए । ती ब्यक्तिहरु नेकपाकै नेता तथा उपमेयर राई निकट रहेको स्थानीयहरु बताउँछन् । 

धम्की दिएपछि पाठकले स्थानीय प्रहरी प्रशासनमा शान्तिसुरक्षाको लागि निवेदन दिए पनि उनीहरुको खोजबिन गरी कानुनी दायरामा ल्याउन प्रभावकारी काम नगरेको प्रति नेपाल प्रेस युनियनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । युनियनका महासचिब अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तिमा समाचारको विषयलाई लिएर पत्रकार पाठकलाई मार्ने धम्की दिनु विद्यमान कानुन र प्रेस स्वतन्त्रताप्रतिको उल्लंघन भएको युनियनले ठहर गरेको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘समाचारको विषयमा सरोकारवाला वा कसैलाई चित्त नबुझे कानूनी प्रक्रिया अबलम्बन गर्न सक्ने अवस्था रहँदा रहँदै पत्रकारमाथि ज्यान मार्ने धम्की दिएर कानूनीराज र प्रेस स्वतन्त्रताकै खिल्ली उडाउनेहरुलाई तत्काल नियन्त्रणमा लिई कार्वाही गर्न स्थानीय प्रहरी प्रशासनसँग युनियन जोडदार माग गर्दछ ।’ यता अनलाइन पत्रकार संघले पनि कानूनी बाटो रोज्नुको साटो पत्रकारलाई ज्यानमार्ने धम्की दिनु निन्दनीय काम भएको जनाएको छ । 

वडादेखि बालुवाटारसम्मको सेटिङ
प्राकृतिक एवम् जैविक क्षेत्रको विनाश गरिरहेको चिहानेखोलामा स्थापना गरिएको बालुवा वासिङमा बुढानीलकण्ठ नगरपालिका वडा नं १३ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठकै लगानी रहेका कारण दोहन नरोकिएको स्थानीयको बुझाइ छ । स्थानीय चारवटा सामुदायिक वनले घेरेको यस वडामा फराकिला सडकहरु पनि बनिरहेकाले जग्गा प्लटिङको क्रम तीब्र छ । बालुवा निकाल्नेदेखि प्लटिङ गर्नेसम्मको काममा वडाध्यक्ष आफै शेयरहोल्डर रहेको बुझिएको छ । 

सामुदायिक वनसँगै जोडिएको जमिनलाई मास्ने तथा खार्ने काम भैरहँदा नगर प्रमुख खरेल मौन रहनु रहस्यमय मानिएको छ । प्रधानमन्त्री ओलीका सल्लाहकार डा भट्टराई पनि सोही क्षेत्रका भएकाले सत्तारुढ दल नेकपा भू–माफिया र प्राकृतिक विनाशमा संलग्नहरुलाई जोगाउन लागि परेको गाउँलेहरुको गुनासो छ ।



लोकप्रिय समाचार
नयाँ