काठमाडौं । आईएमई ग्रुपले कामका शिलशिलामा विदेशमा रहँदा कोरोना भाइरसबाट ज्यान गुमाएका नेपालीका परिवारलाई सहयोग पुर्याउने गरी खडा गरेको ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रुपमा रकम वितरण गरेका हुन् ।
काठमाडौंमा उपलव्ध सात पीडित परिवारबाट शुरु भएको रकम वितरण ७९ जना जीवन गुमाएका नेपालीहरुको परिवारलाई हस्तान्तरण हुनेछ । सहयोग रकम पाउनेमा कोरोनाको कारण साउदी अरेबियामा मृत्यु भएका पाँच जनाको परिवारले र बहराइनमा एक जना र कतारमा मृत्यु भएका एक जनाको परिवार रहेका छन् । कम्पनीले प्रतिपरिवार ५० हजार रुपैयाँको दरले भरोसा कोषबाट रकम दिएको हो ।
चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताए । आइएमईले ब्यवसाय र नाफामात्र नहेरी आमनेपालीको संकटको साथी पनि भएको अध्यक्ष ढकालले बताए ।
कोरोनाले आफै पनि मृत्युको मुखैमा पुगेर फर्किएको सुनाउँदै ढकालले सामाजिक उत्तरदायित्व पूरा गर्दै पीडितहरुको परिवारमा थोरै भएपनि सहयोग गर्न पाएकोमा सन्तोष प्रकट गरे ।
आइएमईले २०७६ साल पुस १६ गतेदेखि २०७७ असोज ३० गतेसम्म कोरोनाको कारण विदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । जसमध्ये आइएमईको मापदण्डभित्र परेका ७९ जनाको परिवारलाई सहयोग हस्तान्तरण हुने भएको हो । पुस मसान्तभित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।
आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले देश र समाज छोडेर परिवारको लालनपालनको लागि विदेशमा गएका श्रमिकको दुःखद निधन सम्वन्धित परिवारको मात्र नभई राष्ट्रकै अपुरणीय क्षति भएको बताए ।
आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले भरोसा कोष कोभिडका कारण विदेशमा जीवन गुमाएका ब्यक्तिको नेपालमा रहेका परिवारका लागि आइएमईका तर्फबाट सानो सहयोग भएको बताए ।
आइएमईका ब्राण्ड एम्बेसडरद्वय दिपकराज गिरी र दिपाश्री निरौलाले भरोसा कोष संचालनका बेलाको अनुभव साँटेका थिए ।