काठमाडौं । जाडोले देश कठ्याङ्ग्रिएको छ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ । हाल नेपालको पश्चिमी तथा मध्य तराइ भूभागका अधिकांश स्थानहरुमा वाक्लो हुस्सु तथा कुहिरो लागिरहेको अवस्था छ।
मौसमविद् गंगा नगरकोटीले काठमाडौं उपत्यकामा शनिबारको न्यूनतम तापक्रम २ डिग्री रहेको बताइन् । यसअनुसार शुक्रबार भन्दा शनिबार ०.४ डिग्री बढेको छ । शुक्रबार यो वर्षकै सबैभन्दा कम १.६ डिग्री रहेको थियो ।
देशभर तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने हुनाले त्यसबाट बच्ने उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ। साथै तराईका अधिकांश भूभागहरुमा तथा पहाडका केही भूभागहरुमा बिहानीपख हुस्सु तथा कुहिरोको कारणले वायुको पारदर्शितामा कमी हुन गइ सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।
दिउँसो प्रदेश नं १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश नं १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।
कस्तो छ शनिबारको न्यूनतम तापक्रम
काठमाडौं २ डिग्री सेल्सियस
जुम्ला माइनस ७.४
दिपायल ०.४
डडेलधुरा ४.१
धनगढी ७.७
वीरेन्द्रनगर १.४
नेपालगञ्ज ६
घोराही ४.२
पोखरा ५.२
भैरहवा ५.५
सिमरा ४.५
ओखलढुंगा ४.१
ताप्लेजुङ २.६
धनकुटा ७.५
विराटनगर ८.८
र जनकपुरमा ५.६ डिग्री सेल्सियस रह्यो ।
शुक्रबार सबैभन्दा बढी दिपायलमा २३.५ डिग्री रहेको थियो । अधिकतममा कम धनगढीमा ११.६ डिग्री रहेको थियो ।