नेपाली महिलाको स्वास्थ्य समस्याबारे कुरा गर्दा परम्परागत ज्ञान, संस्कृतिले स्वास्थ्यमा पारेका सकारात्मक र नकारात्मक असरलाई आयुर्वेदले कम गर्न सक्छ भन्नेबारे बेवास्ता गरिन्छ । औषधि, अस्पताल र स्वास्थ्य चौकीमाथि मात्र विश्वास छ ।
सामाजिक व्यवस्था, महिला अधिकार, कानुन, आर्थिक अवस्थाले कसरी महिला स्वास्थमा प्रभाव पार्छ भन्ने पनि कमै छलफल हुन्छ । जिल्लामा आयुर्वेदिक अस्पतालमा पुग्दा प्रायः ताला लगाइएको हुन्छ । आयुर्वेद विज्ञान नेपालमा अपहेलित छ ।
त्यस्तै प्रकारले हजुरआमाहरूको वनस्पतीय ज्ञान, खानेकुराको प्रयोग गरेर विभिन्न स्वास्थ्य समस्या समाधान गर्ने ज्ञान पनि बिस्तारै हराउँदै छ । हरेक स्वास्थ्य समस्यामा औषधि वा गोलीमाथि विश्वास गर्न थालेपछि घरवरिपरि पाइने महत्वपूर्ण वनस्पतिलाई वास्ता गरिन्नँ ।
केही अघि मेरो घुँडा दुखेर हिँड्न गाह्रो भयो । ६० वर्षकी भए पनि अहिलेसम्म स्वास्थ्य स्थिति राम्रै छ । उच्च रक्तचाप, मधुमेह, ढाड दुख्ने कुनै पनि समस्या छैन । कहाँबाट यो घुँडा दुख्यो । अब लामो हिँड्न सकिन्न, पहाड चढ्न सकिन्न भन्ने लाग्यो ।
अघाउँजी नाच्न नपाइने भयो भनेर मुटु चसक्क बिझायो । एकजना डाक्टरलाई सोधें- एमआरआई गराउने सल्लाह पाएँ । यति सानो समस्यामा त्यति ठूलो प्रविधि के प्रयोग गर्नु भनेर मैले हाडजोर्नी विशेषज्ञ डा. सुरेश उप्रेतीलाई देखाएँ ।
उनले घुँडामा समस्या त छ, तर एक्सरे पनि गर्नुपर्दैन, हरेक दिन घुँडाको व्यायाम गर्नुस् र आयुर्वेदिक तेल दल्नुस् भन्ने सल्लाह दिए । मैले घुँडाको व्यायाम सिकेँ । बेलुका सुत्दा उनले दिएको तेल घुँडामा लगाएँ । भोलिपल्टदेखि घुँडाको व्यायाम थालेँ । दुखाइ केही कम त भयो, तर हिँड्नचाहिँ गाह्रो भइरह्यो । ८० वर्षकी ठूलीआमाले दुई सातासम्म चुन, बेसार र मह मिसाएर लगाउने र माथिपट्टि नेपाली कागजले छोपेर पट्टी बाँध्ने सल्लाह पाएँ । उहाँको कुरामा खासै विश्वास लागेन ।
घुँडाभित्रको समस्यामा यसरी चुन लगाएर ठीक होला ! परम्परागत ज्ञानमा विश्वास त गरे पनि चुन, मह र बेसारमा विश्वास लागेन । तैपनि एकपटक प्रयास गर्दैमा के पो बिग्रिहाल्छ र भन्ने लाग्यो । आखिर चुन, मह र बेसारले बिगार त के नै गथ्र्यो र ! दुई–तीन दिन यो मिश्रण लगाएँ । खासै फाइदा भएन, तर, दुखाइचाहिँ बढेको थिएन । एकदिन राति त यो मिश्रण लगाउँदा घुँडामा बेसरी पोल्यो । घुँडामा पिप नै जम्मा भयो कि जस्तो लाग्यो ।
भोलिपल्ट डाक्टरकहाँ जाने सोच बनाएँ । पोलाइ बढी भएपछि घुँडाको पट्टी खोलेँ । छालामा रातोरातो फोका आएका रहेछन् । तिनै फोका दुखेका रहेछन् । झट्ट याद आयो, बेलुका गल्तीले खुर्सानी छोएको चम्चाले बेसार निकालेर मह र चुनमा मिसाएर घुँडामा लगाएकी थिएँ । त्यही खुर्सानीको कारण घुँडामा फोका पनि आएछन् । बिहान उठेर अलिकता हिँड्दा घुँडा दुखेन । छक्क परेँ, फेरि हिँडे, दुखेन । घुँडाको व्यायाम पनि गरेँ । अचम्म भयो, त्यो दिन हिँड्दा त दुखाइ निकै कम भएको महसुस भयो । त्यो दिन मैले घुँडाको योगासान पनि सजिलोसँग गर्न सकेँ ।
यो अनुभव बहिनीलाई सुनाएँ । उनले भनिन्- मेरा ससुराबाले पनि जिउ दुख्दा खुर्सानी तेलमा पकाएर त्यही तेलले मालिस गर्नुहुन्थ्यो । त्यो सुनेपछि लाग्यो-सायद खुर्सानीमा कुनै यस्तो रसायन छ, जसले शरीरको दुखाइ कम गर्न मद्दत गर्छ । पछि केही पत्रपत्रिका र वेबसाइटमा देखेपछि थाहा भयो, खुर्सानीमा रहेका रसायन औषधिमा पनि प्रयोग हुने रहेछन् । आफूले गरेको ‘आविष्कार’ त पहिल्यै सिद्ध भइसकेको रहेछ ।
यो घटना भएको ११५ महिनापछि मात्र मैंले यो लेख्ने साहस गरेकी हुँ । मेरो घुँडाको दुखाइ कम गर्न व्यायाम, तातोपन, आयुर्वेदिक तेल, मह, बेसार, चुन तत्व सबैले एकसाथ काम गरेका हुन् भन्नेमा म विश्वस्त छु । अहिले मैले बेसारमा चुन र मह लगाउन छाडेँ । थकाइ लागेको वेलामा घुँडामा आयुर्वेदिक तेल दल्छु । व्यायाम त म नबिराईकनै गर्छु । तौल पनि कम गर्न कोसिस गर्दै छु । घुँडा दुखेको वेलामा सबैलाई यही औषधिले ठीक हुन्छ भन्ने छैन, तर समस्या हुँदा विभिन्न तरिका अपनाउन सकिन्छ भन्ने मेरो सिकाइ हो ।(डा.उप्रेतीको फेसबुक पेजबाट)