arrow

दाहाल-नेपाल समूहको दबाबमा ओली: खुमलटारपछि गृहमन्त्री भेट्न पुगे प्रधानमन्त्री ओली

logo
प्रकाशित २०७७ पुष ४ शनिबार
oli-badal-ministers.jpg

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादास्पद अध्यादेश फिर्ता गर्ने गत बुधबारको सहमति पालनामा प्रधानमन्त्री केपी ओलीले आलटाल गरिंरहँदा शनिबार शीर्ष नेताहरुले भेटघाटलाई तिब्रता दिएका छन् । 

प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न खुमलटार पुगेपछि गृहमन्त्री रामबहादुर थापा बादलसँग भेट्न मन्त्री क्वाटर पुल्चोक पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री थापा र प्रधानमन्त्रीबीच  छलफल जारी छ। भेटमा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्वाङ र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि सहभागी छन्।

पार्टी भित्रको शक्ति सन्तुलनका हिसाबले प्रधानमन्त्री ओली दबाबमा रहेका बेला खुमलटार र पुल्चोकको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

शनिबार बिहान करिब ११ बजे दाहाललाई भेट्न ओली खुमलटार पुगेका थिए। उक्त भेटमा उपाध्यक्ष बामदेव गौतम पनि सहभागी थिए ।

पार्टीभित्र देखिएको समस्या समाधानको क्रममा उपाध्यक्ष गौतम र गृहमन्त्री थापा निर्णायाक भूमिकामा देखिन्छन् ।

शुक्रबार दाहाल-नेपाल पक्षले प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँग छलफल गरी ओलीमाथि दबाब बढाएका थिए ।उक्त भेलामा अध्यादेश फिर्ता नलिए ‘एक्सन’ लिने चेतावनी दाहाल-नेपालले दिएका छन् ।

गत बुधबारको स्थायी कमिटी बैठकमा सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र दाहाल–नेपाल समूहले विशेष अधिवेशन आह्वानको हस्ताक्षर फिर्ता गर्ने सहमति भएको थियो ।

तर सहमतिको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । दाहालको दबाबपछि ओली परिषद्को बैठक रोक्न बाध्य  भएका थिए ।



लोकप्रिय समाचार
नयाँ