काठमाडौं। सत्ताको बागडोर सम्हालेका केपी शर्मा ओलीले आफ्नो कार्यकाल पाँच वर्षसम्म नै कायम राख्न अनेकन तिकडम गरेका छन् । वामदेव गौतमले रोजेको मन्त्रालय पाए मात्रै उपप्रधानमन्त्रीसहितको जिम्मेवारीमा सरकारमा जाने बताइरहेका बेला प्रधानमन्त्री ओलीले गौतममाथि भरोसा भएको भन्दै पार्टीको जिम्मेवारी सम्हाल्न आग्रह गरेका थिए । ‘पूर्व एमालेको तर्फबाट संगठन विभागको प्रमुख समेत रहेका कारण अब पार्टी हाँक्ने जिम्मेवारी तपाईको काँधमा आउनसक्छ त्यसकारण तपाई तयारी अवस्थामै रहनुहोला’, प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै स्रोतले भन्यो ।
शुरुमा भौतिक योजना मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेका ओलीले गौतम त्यसमा सहमत भएका थिएनन । त्यहीबीचमा ओलीले गौतमलाई पार्टीको अध्यक्ष बनाउन प्रस्ताव गरेको स्रोतको दावी छ । ओलीले फेरी पनि गौतम कार्ड प्रयोग गरेका छन् । शनिवार विहान प्रधानमन्त्री ओली दाहाललाई भेट्न खुमलटार पुगेको १५ मिनेटमै उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए । प्रधानमन्त्री ओलीले भेटमा अध्यक्ष प्रचण्डलाई आफूमाथि लगाइएको आरोपपत्र फिर्ता लिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठकबाटै समाधान खोजौ भनेर ओलीको प्रस्तावलाई अस्वीकार गरेका थिए । ‘पार्टी कमिटीमा गइसकेको हुनाले पार्टीमै छलफल र बहस गरेर हल खोज्नुपर्छ,’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो । तर त्यही बेला गौतमले दुवै अध्यक्ष मिल्न आग्रह गरेका थिए । गौतमले यसअघि प्रचण्डले ल्याएको प्रस्तावलाई समर्थन गर्दै आएका थिए ।
ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेको सन्दर्भलाई धेरैले राजनीतिक रणनीतिको रूपमा लिएका छन् । पूर्व एमाले र बहुदलीय जनवादको आडमा कित्ताकाट हुने स्थिति नरहेपछि बालुवाटार नयाँ रणनीति बनाउन जुटेको छ । नयाँ रणनीति बनाउन नै प्रधानमन्त्री ओली खुमलटार गएको स्रोतको भनाइ छ । स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीले जसरी पनि एक पद छोड्नैपर्ने अवस्था आएको खण्डमा बामदेव गौतमलाई अघि सार्ने बताए । स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीलाई जसरी पनि एक पद छोडाउन बाध्य पार्ने रणनीतिमा प्रचण्ड–नेपाल समूह लागिरहेको अवस्थामा गौतम अध्यक्षमा बढुवा हुने स्थिति आउने संभावना रहेको छ । सकेसम्म ओली प्रधानमन्त्री र अध्यक्षमध्ये दुवै पद नछाड्ने अडानमा छन् । अध्यक्ष पदबाट हटाउने अवस्थाको सिर्जना भएको खण्डमा वामदेवलाई अध्यक्षको प्रस्ताव गर्ने र सचिवालयको गठबन्धनलाई तितरबितर पार्ने योजनामा बालुवाटार रहेको स्रोतको भनाइ छ । प्रधानमन्त्रीले प्रचण्डको १९ पृष्ठको र आफ्नो ३८ पेजको दुबै राजनीतिक प्रतिवेदन फिर्ता लिएर संयुक्त प्रस्ताव ल्याउ भनेका थिए । खुमलटार स्रोतका अनुसार प्रधानमन्त्रीले दाहालसँग ‘मिलेर जाऔं कमरेड, महाधिवेशनपछिको अध्यक्ष तपाईं नै हो’ समेत भनेका भएपनि प्रचण्डले आफू प्रधानमन्त्री भैहालिन्छ कि भन्ने लोभमा त्यसलाई पनि अस्वीकार गरेका छन् ।